Kathmandu Press

वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ : प्रचण्ड

चितवन, फागुन १६ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय प्रधानमन्त्री केपी शर्मा....

वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ : प्रचण्ड
फाइल फाेटाे

चितवन, फागुन १६ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले मान्नैपर्ने बताएका छन्।

शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सचिवालयको निर्णय प्रधानमन्त्री ओलीले मान्नेमा विश्वास जनाए। ‘वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ, मान्नुहुन्छ,’ प्रचण्डले भने।

नेकपा सचिवालय बैठकले बुधबार गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो। अध्यक्षद्वय ओली र प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत निर्णय गरेको प्रचण्डको भनाइ थियो।

तर, प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री डा.युवराज खतिवडालाई सिफारिश गर्ने अडान लिएका छन्। उनले आफूविरुद्ध षडयन्त्र भएकाले गौतमलाई सिफारिश नगर्ने बताउँदै आएका छन्। जसले नेकपाभित्र विवाद उत्पन्न भएको छ।

शुक्रबार बिहान वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेपछि चितवन पुगेका प्रचण्डले सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्ने बताएका हुन्। ‘सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नुहुन्न भन्ने मैले कल्पना पनि गरेको छैन,’ उनले भने।

एक अर्को प्रश्नको जवाफमा उनले अर्थमन्त्री डा.खतिवडालाई निरन्तरता दिन सकिने बताए। संवैधानिक व्यवस्थाअनुसार, संघीय संसद्को सदस्य नभएको व्यक्तिलाई पनि ६ महिनासम्म मन्त्री बनाउन सकिने भएकाले यसमा प्रधानमन्त्रीले डा.खतिवडालाई नै निरन्तरता दिन सक्ने उनको भनाइ थियो।

 

प्रकाशित मिति: १२:५४ बजे, शुक्रबार, फागुन १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्