त्रिकोणात्मक टि-२० सिरिज : रोहितको अर्धशतकमा युएईमाथि नेपालको जित
आजबाट मुलपानी क्रिकेट मैदानमा सुरु भएको सिरिजको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको छ।काठमाडाैं, कात्तिक १ : त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ। आजबाट मुलपानी क्रिकेट मैदानमा सुरु भएको सिरिजको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको छ।
युएईले दिएको १४१ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदा ३ विकेटको क्षतिमा भेट्टायो। नेपालको जितमा कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ खेले। नटआउट रहेका उनले ४० बलमा ५ चौका प्रहार गर्दै ५१ रन बनाए।
यस्तै दीपेन्द्रसिंह ऐरी ३४ रनमा नटआउट रहे । उलने २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे। रोहित र दीपेन्द्रले चौथो विकेटका लागि ९३ रनको उत्कृष्ट साझेदारी गरे।
नेपालका आसिफ सेखले २७ बलमा २३ रन बनाउँदा कुशल भुर्तेलले १४ बलमा १४ र कुशल मल्लले ९ बलमा ११ रन बनाए। युएईका निलांश केशवानी र अली नासिरले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनायो। उसका लागि बासिल हमिदले ३८ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन बनाए। यस्तै, अलि नासिरले ३२, कप्तान मुहम्मद वासिमले १७ र आसिफ खानले १५ रन बनाए।
नेपालका लागि करण केसीले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिँदा गुल्सन झानले ३ ओभरमा ११ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै, सोमपाल कामी र अविनाश बोहराले १ विकेट लिए।