‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जलाई विश्वव्यापी बनाइँदै
काठमाडौं, फागुन १५ : नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जलाई विश्वव्यापी बनाउन गैर आवासीय नेपाली संघ (ए....

काठमाडौं, फागुन १५ : नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जलाई विश्वव्यापी बनाउन गैर आवासीय नेपाली संघ (एनआरएनए)ले वि विल राइज फाउन्डेसनसँग सहकार्य गर्ने भएको छ।
संघका उपाध्यक्ष एवम् व्यापार, उद्योग तथा नेपाल प्रवद्र्धन विभागका प्रमुख अर्जुन श्रेष्ठले ओझेलमा परेका, तर प्रचुर पर्यटन सम्भावना बोकेका गाउँ–ठाउँलाई विश्वव्यापी रुपमा चिनाउन तथा दीर्घकालीन रुपमा त्यहाँको सामाजिक–आर्थिक उन्नतिमा टेवा पु¥याउन सहयोग गर्ने बताएका छन्।
वि विल राइज फाउन्डेसनले गत वर्षदेखि सुरू गरेको यस प्रतियोेगितामा नेपालको प्राकृृतिक, साँस्कृतिक सम्पदा, वेषभुषा, जातजातीको पहिचान, खानपान, र कला–संस्कृतिको भिडियोलाई प्राथमिकता दिँदै आएको छ।
गतवर्ष सातै प्रदेशबाट एक सय ३२ भिडियोहरुको प्रतिष्पर्धामा तीनवटा भिडियो उत्कृष्ट बनेका थिए। जसमा नुवाकोटका सुकुबहादुर तामाङको ‘जर्नी टु सिङआ’, लमजुङका बिक्रम न्यौपानका ‘राइनास होम स्टे’ र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको ‘सोलु दुध कुण्ड’ भिडियो रहेका थिए।
यस कार्यक्रमबाट छनोट भएका विजेता भिडियोहरुले अन्तर्राष्ट्रिय डबलीमा प्रदर्शनी गर्ने अवसर पनि पाउने अपेक्षा गरिएको वि विल राइज फाउन्डेसनका संस्थापक अध्यक्ष तथा अभियानका संयोजक निर्मल श्रेष्ठले बताए।
कार्यक्रममा फाउन्डेशनका तर्फबाट परिचालन निर्देशक तथा नाडाका सचिव अनुप बराल, सदस्यहरु राष्ट्रिय फुटबल टिमका प्रशिक्षक तथा पूर्वकप्तान राजु काजी शाक्य र पत्रकार आरोही तथा कलाकार रोजिता बुद्धाचार्य एवं सद्भावनादूत सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पाका साथै एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अध्यक्ष डा.हेमन्त दवाडी र एनआरएनए–हङकङका अध्यक्ष राधिका गुरुङ तथा महासचिव गोकर्ण ढकालको उपस्थित रहेको थियो।
प्रतियोगिता नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र चलचित्र विकास बोर्डको सहकार्यमा आयोजना हुन लागेको हो। यसपटक गण्डकी प्रदेश र गैरआवासिय नेपाली संघले समेत यस अभियानमा सह–आयोजकका रुपमा सहकार्य गर्दै छन्।
यसवर्ष सहभागी हुन चाहने प्रतियोगीले डिसेम्बर १ देखि मार्च ९ सम्म आफ्ना भिडियोहरु पठाईसक्नु पर्नेछ। सहभागी वृत्तचित्रको गुणस्तर न्यूनतम फूल एचडी (१९२०×१०८०) पिक्सेलको र समय अधिकतम पाँच मिनेटको हुनुपर्नेछ।
प्रतियोगीहरुले फाउन्डेसनको वेबसाइटमा रेजिस्ट्रेसन फर्म भरी गुगलड्राइभबाट भिडियो पठाउन सक्नेछन्। निर्णायक मण्डलले आएका भिडियोमध्येबाट १० विधागत अवार्डका लागि ७० भिडियो मनोनयन गर्नेछन्। छनोटमा परेका १० उत्कृष्ट भिडियोलाई आगामी अप्रिलमा बृहत कार्यक्रम गरी पुरस्कृत गरिनेछ।












