नयाँ वर्षदेखि राजधानीका १० रुटमा रात्रिबस चलाउने तयारी
काठमाडौं, फागुन १५ : नयाँ वर्षमा काठमाडौंका १० रुटमा रात्रिबस सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले तयारी थालेको छ। काठमाडौं उपत्यकाभित्र रात्रिबस सञ्च....

काठमाडौं, फागुन १५ : नयाँ वर्षमा काठमाडौंका १० रुटमा रात्रिबस सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले तयारी थालेको छ। काठमाडौं उपत्यकाभित्र रात्रिबस सञ्चालन गर्ने योजनाअन्तर्गत पहिलो चरणमा १० रुटमा चलाइने जनाएको छ।
महानगरका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको जिल्ला प्रशासन, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधिको बैठकले रात्रिबस सञ्चालन गर्ने निर्णय गरेको काठमाडौंको शहरी सुव्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले बताए। ‘रत्नपार्कलाई केन्द्रविन्दु बनाएर १० रुटमा रात्रिबस सञ्चालनमा ल्याउन तयारी गरिरहेका छौं,’ कुँवरले भने।
उनका अनुसार, पहिलो चरणमा रत्नपार्कदेखि बुढानिलकण्ठ, सितापाइला, थानकोट, जोरपाटी, सातदोवाटो, चक्रपथ परिक्रमा, सुर्यविनायक, बालाजु, सिनामंगलसम्म रात्रिबस सञ्चालन गर्ने तयारी भइरहेको छ। यसमा व्यवसायीहरू पनि सहमत रहेको उनले बताए।
रात्रिबसमा भने दोब्बर भाडा लाग्नेछ। यसका लागि महानगरले सहमति जनाएको छ। ‘ट्याक्सीले पनि रातिको समयमा डेढ गुना भाडा लिने गरेको छ। बसमा पनि त्यस्तै नियम लागू हुन्छ,’ कुँवरले भने।
यसलाई महानगरले स्वीकृत गरेर यातायात व्यवस्था विभागमा पठाएको छ। विभागले स्वीकृत दिन वितिक्कै रात्रिबस सञ्चालनमा आउने उनको भनाइ छ। हिउँदमा साँझ ७ देखि राति १० बजेसम्म र अन्य समयमा साँझ ८ देखि राति ११ बजेसम्म रात्रिबस सञ्चालन हुनेछन्। प्रत्येक रुटमा ३० मिनेटको फरकमा एउटा बस गुड्नेछ।
यात्रुको सुरक्षालाई विशेष ध्यान दिइने जनाएको छ। यसका लागि बस कहाँ पुग्यो र बसभित्रका गतिविधि निगरानी गर्नेगरि सीसी क्यामरा तथा अन्य उपकरण जडान गरिनेछ। यससँगै यात्रुको सुरक्षालाई ध्यानमा राखेर सादा पोशाकमा प्रहरी पनि परिचालन गरिनेछ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले दोब्वर भाडा लिन मिल्छ कि मिल्दैन भन्ने विषयमा छलफल भइरहेको बताए। ‘दोब्वर भाडा लिएर सञ्चालन गर्न दिने÷नदिने निर्णय हुन बाँकी छ,’ उनले भने।
व्यवसायीहरुले दोब्वर भाडा तोकिदिए रात्रिबस सञ्चालन गर्न तयार भएको महानगरले प्रतिवेदन बुझाएको छ। ‘नमुनाको रुपमा रात्रिबस सञ्चालन अगाडि बढाउने र यात्रुहरुको प्रतिक्रियाअनुसार, परिवर्तन गर्ने कि भन्ने कुरा चलिरहेको छ,’ उनले भने।











-(32)-1764944804.jpeg)
