कोरोना भाइरस संक्रमित पानीजहाजबाट नेपालीको उद्धार
काठमाडौं, फागुन १५ : कोरोना भाइरस संक्रमणको डायमन्ड प्रिन्सेस क्रुज (पानीजहाज)बाट नेपालीको पनि उद्धार गरिएको छ। भारतले आफ्ना नागरिकसँगै नेपालीको पनि उ....

काठमाडौं, फागुन १५ : कोरोना भाइरस संक्रमणको डायमन्ड प्रिन्सेस क्रुज (पानीजहाज)बाट नेपालीको पनि उद्धार गरिएको छ। भारतले आफ्ना नागरिकसँगै नेपालीको पनि उद्धार गरेको हो।
यात्रुमा कोरोना भाइरसको संक्रमण देखिएपछि जापानले राजधानी टोकियोमा पानीजहाजलाई नै क्वारेन्टाइनमा राखेको छ। जसमा ६ सय १३ जना कोरोना भाइरस संक्रमण भएका यात्रु पनि रहेका छन्। जहाजमा सुरुआतमा तीन हजार सात यात्रु रहेका थिए। तिमध्ये धेरै देशले आफ्ना नागरिकलाई फिर्ता लगिसकेको छ। अझै थुप्रै यात्रु जहाजमै रहेका छन्।
अमेरिका, बेलायतलगायतका देशले त्यहाँ रहेका आफ्ना नागरिकलाई लगेका छन्। केही देशका नागरिक अझै पनि पानीजहाजमै छन्।
बिहीबार भारतले पनि आफ्ना नागरिकलाई स्वदेश लगेको हो। भारतीय विदेश सचिव एस जयशंकरले ट्वीट गर्दै आफ्ना नागरिकको उद्धार गरिएको जनाएका छन्।
A special word of appreciation for our team @IndianEmbTokyo for their sustained efforts which made this happen.
— Dr. S. Jaishankar (@DrSJaishankar) February 27, 2020
भारतले पानीजहाजमा रहेका एक सय २४ जनालाई उद्धार गरेको छ। उनीहरूलाई बिहीबार बिहान नयाँ दिल्ली पुर्याइएको छ।
जसमा एक सय १९ जना भारतीय नागरिक छन्। त्यस्तै, एक जना नेपाली पनि छन्। आफ्ना नागरिकसँगै भारतले नेपाली नागरिकको पनि पानीजहाजबाट उद्धार गरेको हो। त्यस्तै, दुई जना श्रीलंकाली, दक्षिण अफ्रिका र पेरुका एक–एक जनाको पनि उद्धार गरिएको छ।
पानीजहाजबाट उद्धार गरिएका नेपाली नागरिकको पहिचान खुलाइएको छैन। उनलाई पनि भारतीय नागरिकसँगै हरियाणाको मानेसरस्थित सैनिक क्याम्पमा राखिने जनाएको छ। त्यहाँ उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जनाएको छ।











