देव खनाल : यु-१९ मा दुई शतक हान्ने पहिलो नेपाली
मलेसियामा जारी यू१९ प्रिमियर कपमा इरानविरुद्ध शतक हानेसँगै देवले यु-१९ मा दुईवटा शतक हान्ने खेलाडिको कीर्तिमान बनाएका हुन्।काठमाडौं, असाेज २५ : शीर्ष क्रमका ब्याटर देव खनाल यू-१९ क्रिकेटमा दुई शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
मलेसियामा जारी यू१९ प्रिमियर कपमा इरानविरुद्ध शतक हानेसँगै देवले यू-१९ मा दुईवटा शतक हान्ने खेलाडिको कीर्तिमान बनाएका हुन्।
अहिले जारी खेलमा ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय बनाएका उनको यो यू-१९ मा यो दोस्रो शतक हो। गत फागुनमा आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको शतकीय इनिङ खेलेका उनकै उत्कृष्ट प्रदर्शनमा नेपालले ८ वर्षपछि यू१९ विश्वकपमा स्थान बनाएको थियो।
नेपालबाट यसअघि एकै उमेर समूहमा कुनैपनि खेलाडीले दुई शतक हानेका थिएनन्। रित गौतम दुई फरक उमेर समूहमा शतक हान्ने एक्लो खेलाडी हुन्। उनले यू१६ र यू१९ दुबैमा नेपालबाट शतक हानेका छन्।
नेपालबाट यू१९ क्रिकेटमा शक्ति गौचन, कनिष्क चौलागाई, राजु रिजाल, रित गौतम, अर्जुन कुमाल र देव खनालले यू१९ मा शतक हानेका छन्।
पूर्व कप्तान पारस खड्का सिनियर टोलीबाट सर्वाधिक पाँच शतक हान्ने खेलाडी हुन्। देवले नेपालबाट १० ओडिआई खेलमा २ अर्धशतकसहित कुल २ सय ५३ रन बनाएका छन्।
उनले २०२२ मा पपुवा न्युगिनीविरुद्ध पहिलो ओडिआई खेलमा टियु क्रिकेट मैदानमा सिनियर टोलीमा डेब्यू गरेका थिए।