एसीसी इस्टर्न रिजन टि–२० क्रिकेटः कुशलले ओपनिङ गर्न सक्ने
काठमाडौं, फागुन १४ : एसिया कप छनोटका रुपमा रहेको एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगितामा १५ वर्षीय युवा अलराउन्डर कुशल मल्लले ओपनिङ गर्न सक्....

काठमाडौं, फागुन १४ : एसिया कप छनोटका रुपमा रहेको एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगितामा १५ वर्षीय युवा अलराउन्डर कुशल मल्लले ओपनिङ गर्न सक्ने बताइएको छ।
प्रतियोगितामा सहभागी हुन थाइल्यान्ड जाने राष्ट्रिय टिमको विदाइ कार्यक्रममा मुख्य प्रशिक्षक जगत टमटा र कप्तान ज्ञानेन्द्र मल्ले त्यसको संकते गरेका हुन्। पछिल्लो समय निरन्तर ओपनिङमा परिवर्तन गरिरहेको नेपाली टिममले थाइल्याण्डमा पनि नयाँ प्रयोग गर्ने तयारी गरेको छ।
इस्टर्न रिजन प्रतियोगितामा ज्ञानेन्द्रसँगै कुशलले नेपाली इनिङको सुरुवात गर्ने सम्भावना रहेको प्रशिक्षक टमटाले बताए।
‘ज्ञानेन्द्र र कुशललाई ओपनिङ गराउने पनि सोचेका छौं, अभ्यासमा त्यसको तयारी पनि गर्यौं,’ टमटाले भने, ‘त्यहाँको कन्डिसन कस्तो हुन्छ, टिम म्यानेजमेन्टसँग सल्लाह गरेर निर्णय गछौं। टि–२० ४–५ बलको खेल हो, त्यसैले जसले पनि ओपनिङ गर्न सक्छन्।’
कुशल मल्ल पछिल्लो समय उत्कृष्ट फर्ममा रहेकालाई ओपनिङ गराउन सकिने कप्तान ज्ञानेन्द्र मल्ले बताए। कप्तान मल्लले आफू, पारस र कुशलमध्येबाटै ओपनिङ हुने बताए। कसले ओपनिङ गर्ने भन्ने निर्णय कन्डिसन हेरेर गरिने पनि उनले बताए।
गत महिना नेपालमै भएको विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध अर्धशतक बनाउँदै कुशलले अन्तर्राष्ट्रिय क्रिकेटमा रेकर्ड बनाएका थिए। उनी अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छा खेलाडी हुन्। कुशलले गत वर्ष सिंगापुरमा जिम्बाबेविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
प्रतियोगिताका लागि नेपाली टिम बिहीबार थाइल्याण्ड जानेछ। थाइल्याण्ड जाने नेपाली टिमलाई राखेप सदस्य सचिव रमेश सिलवाल, क्यानका सचिव अशोकनाथ प्याकुरेल र कोषाध्यक्ष रोशन सिंहले विदाइ गरे।
इस्टर्न रिजन प्रतियोगितामा नेपालसँगै थाइल्यान्ड, मलेसिया, सिंगापुर र हङकङ छन्। राउन्ड रोबिन लिगका आधरमा हुने प्रतियोगिताका शीर्ष दुई टिम एसिया कपका लागि छनोट हुनेछन्। प्रतियोगिता फेब्रुअरी २९ देखि ६ मार्चसम्म थाइल्याण्डमा हुनेछ।
यस्तो छ नेपालको खेल तालिका
फेब्रुअरी २९ : मलेसिया
मार्च १ : हङकङ
मार्च ४ : थाइल्यान्ड
मार्च ६ : सिंगापुर
नेपाली टिम : ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनाश बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा।











