शेयर बजारमा नयाँ रेकर्ड, चार अर्बभन्दा बढीको कारोबार
काठमाडौं, फागुन १४ : साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा ४ अर्ब १५ करोड ४८ लाख बराबरको शेयर किनबेच भएको छ। यो हालसम्मकै उच्च कारोबार रकम ह....
काठमाडौं, फागुन १४ : साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा ४ अर्ब १५ करोड ४८ लाख बराबरको शेयर किनबेच भएको छ। यो हालसम्मकै उच्च कारोबार रकम हो।
बढ्दो बजारमा कारोबार रकम पनि बढेकाले शेयर बजारमा खरिदकर्ताको चाप बढेकाले यसलाई सकारात्मक मानिन्छ। नेप्से परिसूचक ५० दशमलव ९३ अंकले अर्थात ३ दशमलव ३० प्रतिशतले बढेर १५९६ दशमलव १३ को विन्दुमा बन्द भएको छ।
नेप्सेका सबै उपसूचकमा पनि वृद्धि भएका छन्। यसरी सबै उपसूचकमा वृद्धि रहेकाले शेयर बजारमा यसलाई पनि सकारात्मक मानिन्छ। सर्वाधिक वृद्धि हुनेमा जीवन बीमा, उत्पादन तथा प्रशोधन र बैंकिङ्ग उपसूचक रहेका छन्। यिनीहरुमा क्रमशः ६ दशमलव १२, ४ दशमलव ६३ र ३ दशमलव ८६ प्रतिशतको वृद्धि रहेको छ।
१५४७ दशमलव २१ को विन्दुमा खुलेको दोस्रो बजार १५९६ दशमलव १३ को उच्च विन्दुसम्म पुगेको थियो। बजार खुलेदेखि अन्तिम समयसम्म क्रेताको चाप रहेकाले अर्को कारोबार दिन पनि बजार सकारात्मक हुन सक्ने आंकलन गरिन्छ।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ९९ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज एभरेष्ट बैंक अग्राधिकार शेयरका शेयरधनी, राष्ट्रिय बीमा र युनिलिभर नेपालका शेयरधीले सर्वाधिक १० प्रतिशतले कमाए भने राधी विद्युत कम्पनीका शेयरधनीले सर्वाधिक ८ दशमलव २९ प्रतिशतले गुमाए।
छोटो समयावधिको प्राविधिक विश्लेषण
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल बढ्दो प्रवृत्तिमा रहेको छ। आजको मैनबत्तीले ‘बुलिस मारुबोजु’को आकृति बनाएको छ। यसले बजारमा क्रेताको चाप रहेको संकेत गर्नुका साथै अर्को कारोबार दिन पनि बजार बढ्न सक्ने संकेत गर्दछ। कारोबार रकमले आजको मैनबत्तीलाई समर्थन गरेको छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिन बढ्दो प्रवृत्तिमा रहेको बजार आज पनि त्यही अनुरुप निरन्तरता पाएको छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६७ दशमलव ६८ अंकमा रहेको छ। यसको प्रवृत्तिले क्रेताको चाप केही कमजोर हुँदै गएको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ।
निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा बजार सकारात्मक रहेको र अर्को तत्कालीन प्रतिरोध १६१५ को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १५८८ भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेतलाई पनि नकार्न सकिन्न।