तीन खेलाडीको शतकमा विश्वकपमा दक्षिण अफ्रिकाको सानदार सुरुआत
शनिबार राति अबेर सकिएको खेलमा तीन खेलाडीले शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले श्रीलंकामाथि १०२ रनको फराकिलो जित निकाल्यो।
काठमाडाैं, असाेज २१ : भारतमा जारी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले सानदार सुरुआत गरेको छ। शनिबार राति अबेर सकिएको खेलमा तीन खेलाडीले शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले श्रीलंकामाथि १०२ रनको फराकिलो जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले दिएको ४२९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको श्रीलंका ४४.५ ओभरमा ३२६ रनमा अलआउट भयो। उसका लागि चरिथा असलंकाले सर्वाधिक ७९ रन बनाउँदा कुशल मेन्डिसले ७६ र कप्तान दसुन सनकाले ६८ रनको योगदान दिए।
दक्षिण अफ्रिकाका जेराल्ड कोइट्जेले ३ तथा मार्को यन्सन, कागिसो रबाडा र केशव महाराजले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा विश्वकपकै सर्वाधिक ठूलो ४२८ लक्ष्य बनायो । यसअघि अस्ट्रेलियाले सन् २०१५मा अफगानिस्तानविरुद्ध ४१७ रन बनाएको थियो।
दक्षिण अफ्रिकाका लागि क्वेन्टन डि कक, रसी भान डेर डुसेन र एइडन मारक्रमले शतकीय योगादन दिए। डिककले ८४ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै १०० रन बनाए भने डसेनले ११० बलमा १३ चौका र २ छक्का मद्दतमा १०८ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि १७४ बलमा २०४ रनको साझेदारी गरेका थिए।
यस्तै, मारक्रकमले कीर्तिमानी शतक प्रहार गरे। विश्वकप क्रिकेटकै सर्वाधिक छिटो शतक प्रहार गर्ने क्रममा उनले ४९ बलमा शतक बनाए। मारक्रम ५४ बलमा १४चौका र ३ छक्का प्रहार गर्दै १०६ रन बनाएर आउट भए।
यसक्रममा उनले आयरल्यान्डका केभिन ओब्राइनको कीर्तिमान तोडे। ओब्राइनले सन् २०११ मा इंग्ल्यान्डविरुद्ध ५० बलमा शतक बनाएका थिए।
यी तीन बाहेक डेविड मिलरले २१ बलमा ३९ र हेनरिच क्लासनले २० बलमा ३२ रन बनाए।
श्रीलंकाका लागि दिल्सान मधुसनकाले २ तथा कसुन रजिथा, मथिसा पथिराना र दुनिथ वेलालागेले समान १ विकेट लिए।











