मारक्रम, डि कक र डुसेनको शतकमा श्रीलंकालाई ४२९ रनको कीर्तिमानी लक्ष्य
दिल्लीमा जारी खेलमा पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले तीन खेलाडीको शतक मद्दतमा श्रीलंकालाई ४२९ रनको कीर्तिमानी लक्ष्य दिएको हो।
काठमाडाैं, असाेज २० : भारतमा जारी एकदिवसीय विश्वकपको आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई कीर्तिमानी लक्ष्य दिएको छ। दिल्लीमा जारी खेलमा पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले तीन खेलाडीको शतक मद्दतमा श्रीलंकालाई ४२९ रनको कीर्तिमानी लक्ष्य दिएको हो।
पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा ४२८ रन बनायो। यो विश्वकपमा कुनै पनि टिमले बनाएको सर्वाधिक ठूलो स्कोर हो। यसअघि अस्ट्रेलियाले सन् २०१५मा अफगानिस्तानविरुद्ध ४१७ रन बनाएको थियो।
दक्षिण अफ्रिकाका लागि क्वेन्टन डि कक, रसी भान डेर डुसेन र एइडन मारक्रमले शतकीय योगादन दिए। डिककले ८४ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै १०० रन बनाए भने डसेनले ११० बलमा १३ चौका र २ छक्का मद्दतमा १०८ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि १७४ बलमा २०४ रनको साझेदारी गरेका थिए।
यस्तै, मारक्रकमले कीर्तिमानी शतक प्रहार गरे। विश्वकप क्रिकेटकै सर्वाधिक छिटो शतक प्रहार गर्ने क्रममा उनले ४९ बलमा शतक बनाए।
विश्वकपमा मारक्रमकाृ कीर्तिमानी शतक, तोडे ओब्राइनको रेकर्ड
दक्षिण अफ्रिकीका ब्यट्सम्यान एइडन मारक्रमले विश्वकपमा कीर्तिमानी शतक प्रहार गरेका छन्। दिल्लीमा जारी खेलमा श्रीलंकाविरुद्ध मारक्रमले विश्वकप सर्वाधिक छिटो शतक बनाए। मारक्रम ५४ बलमा १४चौका र ३ छक्का प्रहार गर्दै १०६ रन बनाएर आउट भए।
यसक्रममा उनले आयरल्यान्डका केभिन ओब्राइनको कीर्तिमान तोडे। ओब्राइनले सन् २०११ मा इंग्ल्यान्डविरुद्ध ५० बलमा शतक बनाएका थिए।
यी तीन बाहेक डेविड मिलरले २१ बलमा ३९ र हेनरिच क्लासनले २० बलमा ३२ रन बनाए।
श्रीलंकाका लागि दिल्सान मधुसनकाले २ तथा कसुन रजिथा, मथिसा पथिराना र दुनिथ वेलालागेले समान १ विकेट लिए।











