Kathmandu Press

चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने : स्वास्थ्यमन्त्री बस्नेत

नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसके पाँच वर्षपछि नेपालमा डाक्टरहरु नरहने भन्दै विदेश पलाएन हुने अवस्था देखिएको बताए। 
चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने : स्वास्थ्यमन्त्री बस्नेत

मनहरी (मकवानपुर), असोज २० : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने बताएका छन्। 

नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसके पाँच वर्षपछि नेपालमा डाक्टरहरु नरहने भन्दै विदेश पलाएन हुने अवस्था देखिएको बताए। ऐन संशोधन गरेर नेपालमै डाक्टर तथा नर्स अध्ययन गराउने वतावरण बनाउन आफू लागिपरेको मन्त्री बस्नेतले बताए। स्वास्थ्य क्षेत्रमा दक्ष स्वस्थ्यकर्मी उत्पादन बढाउन नसके गुणस्तरीय सेवा प्रदान गर्न नसकिने उनको भनाइ थियो । 

स्वास्थ्य क्षेत्रमा देखिएका अभाव र बेथिति रोक्न निरन्तर लागिरहेको बताउँदै मन्त्री बस्नेतले आफू स्वास्थ्यमन्त्री भएपछि सरकारी अस्पतालका सेवामा आमूल परिवर्तन भइरहेको उल्लेख गरे। अहिले ९५ प्रतिशत डाक्टर गाउँगाउँमा सेवा दिन पुगेको तथ्याङ्क आफूसँग भएको जानकारी दिैदै उनले एक सय दिनमा एक सय सात काम गरेर देखाएको बताए। 

'आफू स्वास्थ्यमन्त्री भएर आएपछि वीर अस्पतालको सुधारदेखि गाउँगाउँमा डाक्टर पुगेको, मेडिकल बोर्डमा उल्लेख्य सुधार भएको, अनुमति नलिइ सञ्चालनमा आएका फार्मेर्सीमा कारबाही गर्न सुरु भएको, सरकारी अस्पताललाई आफैँ अनिवार्य फार्मेसी सेवा सुरु गर्ने वातावरण बनाइएकोलगायत कामहरु भएका छन्,' मन्त्री बस्नेतले भने। अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा भएका सकारात्मक परिवर्तन देखिने बताउँदै उनले आधारभूत स्वास्थ्य सेवा दिने सन्दर्भमा नीतिगत मात्र नभई कार्यान्वयनका पक्षमा पनि आफू अहोरात्र लागिपरेको जानकारी दिए। 

पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, वाग्मती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्कालगायत कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता थियो।

प्रकाशित मिति: १३:०३ बजे, शनिबार, असोज २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्