नेदरल्यान्डमाथि पाकिस्तानको सहज जित
हैदरावादमा शुक्रबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्समाथि ८१ रनको फाराकिलो जित निकाल्यो।
काठमाडाैं, असाेज २० : भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तानले विजयी सुरुआत गरेको छ। हैदरावादमा शुक्रबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्समाथि ८१ रनको फाराकिलो जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै पाकिस्तानले दिएको २८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४१ ओभरमा २०५ रनमै अलआउट भयो। उसका लागि बास डे लिड सर्वाधिक ६७ रन बनाए। उनले ६८ बलमा ६ चौका प्रहार गरे।
यस्तै, विक्रमजित सिंहले पनि अर्धशतकीय योगदान दिए। उनले ६७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५२ रन बनाए। यस्तै लोगन भान विकले २८ बलमा २८ रन बनाए भने कोलिन एकरमनले १७ रन बनाए।
पाकिस्तानका लागि हरिस रउफले ३ तथा हसन अलीले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानका लागि मोहम्मद रिजवान र साउद सकीलले अर्धशतकीय योगदान दिए। रिजवानले ७५ बलमा ८ चौका प्रहार गर्दै ६८ रन बनाए भने सकीलले ५२ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६८ रन नै बनाए।
३८ रनमै तीन विकेट गुमाएको पाकिस्तानका लागि रिजवान र सकीलले ११४ बलमा १२० रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यस्तै, मोहम्मद नवाजले ३९ र सादब खानले ३२ रनको योगदान दिए।
नेदरल्यान्ड्सका डे लिडले ४ तथा अकरमनले २ विकेट लिए।
प्रतियोगितामा शनिबार २ खेल हुनेछ। शनिबार बिहान धर्मशालामा बंगलादेश र अफगानिस्तान भीड्ने छन् भने दिउँसो दिल्लीमा दक्षिण अफ्रिका र श्रीलंका आपसमा भीडन् छन्।











