कोरोना भाइरसका बिरामी ८० हजार, २७ सयको मृत्यु
काठमाडौं, फागुन १३ : चीनमा कम हुँदै गएपनि कोरोना भाइरसको संक्रमण अन्य देशमा तीव्र रुपमा फैलिरहेको छ। दक्षिण कोरियासँगै इरान र इटालीमा यसको प्रकोप देखि....

काठमाडौं, फागुन १३ : चीनमा कम हुँदै गएपनि कोरोना भाइरसको संक्रमण अन्य देशमा तीव्र रुपमा फैलिरहेको छ। दक्षिण कोरियासँगै इरान र इटालीमा यसको प्रकोप देखिएको छ।
विश्व स्वास्थ्य संघ (डब्लूएचओ)का अनुसार, मंगलबारसम्म ८० हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमा अधिकांश चीनमा रहेका छन्।
त्यस्तै, यसको संक्रमणबाट मंगलबारसम्म दुई हजार सात सय जनाको मृत्यु भएको डब्लूएचओले जनाएको छ। जसमा अधिकांश चीनका रहेका छन्।
पछिल्लो समय भने दक्षिण कोरिया, इटाली र इरानमा पनि यसले प्रकोपको रुप लिएको छ। दक्षिण कोरियामा आठ सय ९० जनामा संक्रमण भेटिएको छ भने आठ जनाको मृत्यु भएको छ। दक्षिण कोरियाको सबैभन्दा बढी थेगु शहर प्रभावित भएको छ। त्यहाँ १६ जनामा संक्रमण भेटिएको छ भने कयौं बिरामी परेको जनाएको छ।
इरानमा यसको असर झन खतरनाक देखिएको छ। संक्रमण देखिएका ६० जनामध्ये १२ को मृत्यु भएको छ। त्यस्तै, इटालीमा दुई सय २० जनामा संक्रमण देखिएको छ। त्यसमध्ये सात जनाको मृत्यु भएको छ।
चीनले महिनौदेखि शहर बन्द गरेको छ। अहिले प्रकोप देखिएका कोरिया, इटाली र इरानले पनि प्रभावित भएको शहरमा आवतजावत बन्द गरेको छ। स्कुल, कलेज र विद्यालय पनि बन्द रहेका छन्। त्यस्तै, कलकारखानाहरू पनि बन्द गरिएका छन्।
कोरोना भाइरसको संक्रमण फैलिएपछि कयौ देशले चीनसँगै दक्षिण कोरिया, इटाली र इराकसँग हवाइ सेवा बन्द गरेको छ। तिदेश आवतजावत नगर्न आफ्ना नागरिकलाई सचेत गराएका छन्।











