Kathmandu Press

माल्दिभ्समाथि नेपालको सहज जित, अविनाशले लिए ६ विकेट

आइतबार बिहान भएको खेलमा नेपालले माल्दिभ्समाथि १३८ रनको फराकिलो जित निकाल्यो।
माल्दिभ्समाथि नेपालको सहज जित, अविनाशले लिए ६ विकेट
फाइल तस्बिर।

काठमाडाैं, असाेज १४ : साचीनमा जारी एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल विजयी भएको छ। आइतबार बिहान भएको खेलमा नेपालले माल्दिभ्समाथि १३८ रनको फराकिलो जित निकाल्यो।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ गर्दै नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ओभरमो ७४ रनमै अलआउट भयो।

माल्दिभ्सका लागि मुएवियाथ अब्दुल घानीले सर्वाधिक ३६ रन बनाउँदा रसिद रासमले १२ र सिउस फरिदले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा अविनाश बोहराले घातक बलिङ गरे। उनले ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिए। योसँगै उनी नेपालका लागि टि–२०आईमा एकै खेलमा सर्वाधिक विकेट लिने बलर बनेका छन्।

उनका अलावा सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले पनि विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ७ विकेट गुमाएर २१२ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए। उनले २७ बल खेल्दै समान ३ चौका र छक्का प्रहार गरे।

यस्तै, कुशल मल्लले २० बलमा समान ३ चौका र छक्का प्रहार गर्दै नटआउट ४७ रन बनाए भने  कुशल भुर्तेल र गुलशन झाले समान ३५ रन बनाए । बलिङतर्फ माल्दिभ्सका नाजवान स्माइलले तीन विकेट लिए।

लागतार दोस्रो जितसँगै नेपाल समूह एबाट क्वार्टरफाइनलमा प्रवेश गरेको छ। यसअघि नेपालले पहिलो खेलमा मंगोलियालाई २७३ रनले हराएको थियो।

अब नेपालले क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशमध्ये एक टिमसँग खेल्नेछ। यी चार टेस्ट टिम सीधै क्वाटरफाइनल पुगेका हुन्।

प्रकाशित मिति: १०:५५ बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्