सांसदको उस्काहटपछि दिल्लीमा हिंसा, प्रहरीसहित सातको मृत्यु
नयाँ दिल्ली, फागुन १३ : प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)का सांसद कपिल मिश्राको भाषणपछि सुरू भएको हिंसा तेस्रो दिनपनि जारी रहेक....

नयाँ दिल्ली, फागुन १३ : प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)का सांसद कपिल मिश्राको भाषणपछि सुरू भएको हिंसा तेस्रो दिनपनि जारी रहेको छ। मंगलबार बिहानैदेखि हिंसात्मक प्रदर्शन सुरू भएको छ। जसमा प्रहरी हवल्दारसहित सात जनाको मृत्यु भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेकैवेला हिंसा भड्किएको हो। राजधानी दिल्लीमा लामो समयदेखि सीएए र एनआरसीको विरोधमा प्रदर्शन हुँदै आएको थियो। शान्तिपूर्ण धर्नामा बसेका सीएए विरोधीलाई हटाउन भाजपा सांसद कपिल मिश्राले कार्यकर्तालाई उस्काएका थिए।
आइतबार उनले उत्तजक भाषण दिएसँगै भाजपा कार्यकर्ता सडकमा ओर्लिएका हुन्। जसले हिंसात्मक रुप लिँदा सोमबार पाँच जनाको मृत्यु भएको थियो। आज बिहानदेखि सुरू भएको हिंसात्मक प्रदर्शनमा थप दुई जनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
दिल्लीको उत्तरपूर्वि क्षेत्रमा आज पनि प्रदर्शन जारी रहेको छ। भाजपा कार्यकर्ताले सीएएको विरोध गर्नेहरूमाथि कुटपिट गरेका छन्। उनीहरू केही घरमा समेत आगो लगाएका छन्।
प्रहरीकै सामुन्ने गोली हानेको भिडियो भाइरल भएको छ। पेस्तोल बोकेका युवकले प्रहरीमाथि समेत गोली तोकेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो।
आज बिहानैदेखि दुवै पक्षका प्रदर्शनकारी सडकमा आएको जनाएको छ। जसले गर्दा प्रहरीले कयौं ठाउँमा कर्फ्यू लगाएको छ।












