काठमाडौंका सडकबाट उद्धार गरिएका सातको मृत्यु
काठमाडौं, फागुन १३ : काठमाडौंका सडकबाट उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिकाले मंसिर २९ गतेदेखि सडकबाट वेसहरा, ब....

काठमाडौं, फागुन १३ : काठमाडौंका सडकबाट उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिकाले मंसिर २९ गतेदेखि सडकबाट वेसहरा, बालबालिका तथा अपांगता भएका व्यक्तिलाई उद्धार गर्न सुरू गरेको थियो। जसमा सात सय ४९ जनाको उद्धार गरिएको थियो। तिमध्ये सात जनाको मृत्यु भएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए। उनका अनुसार, बिरामी, लागूपदार्थ सेवनकर्ताको उपचारका क्रममै मृत्यु भएको हो।
आश्रमका अनुसार, अहिलेसम्म पाँच सय ८८ जनालाई परिवारसँग पुनःमिलन गराइएको छ। उद्धार गरिएकामध्ये ६ सय ९६ जनालाई काठमाडौँ महानगरपालिका क्षेत्रभित्रबाट र ५३ जनालाई अन्य नगरबाट उद्धार गरिएको हो।
त्यस्तै, उनीहरूमध्ये ७३ जनाको स्थायी ठेगाना काठमाडौं नै रहेको छ। त्यस्तै, अस्वस्थ अवस्थामा रहेका ४५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। ‘सत्तरीको स्क्रिनिङ हुन बाँकी छ, ५१ जनालाई आश्रम स्थानान्तरण गरिएको छ भने सातको मृत्यु भएको छ,’ अधिकारीले भने।
काठमाडौँमा मागेर गुजारा चलाउनेलाई व्यवस्थापन गर्ने महानगरको अभियानलाई थप व्यवस्थित गर्न सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र मानवअधिकारका पक्षमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिसँग बसेर आगामी कार्यक्रम अघि बढाइने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए।
सडकलाई बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त बनाउन गठित मूल समितिको संयोजक एवं महानगर प्रमुख शाक्यले बेसहारा एवं समस्यामा परेका बालबालिका, महिला र ज्येष्ठ नागरिकका लागि काम गर्ने मन्त्रालय र मानवअधिकारका सवालमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिले देखेको समाधानको बाटो बुझेर अभियानलाई अघि बढाउनुपर्ने बताए।











