Kathmandu Press

स्याङ्जाको बहाकोट मन्दिरको पुर्ननिर्माण सम्पन्न, पर्यटकको आवागमन बढ्ने अपेक्षा 

स्याङ्जाको बहाकोट मन्दिरको पुर्ननिर्माण सम्पन्न, पर्यटकको आवागमन बढ्ने अपेक्षा 

स्याङ्जा, असोज ११ : स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ८ मा रहेको बहाकोट कोटकालिका मन्दिरको उदघाटन गरिएको छ। 

बाइसे राजा पृथ्वी वीर विक्रम शाहाको पालामा स्थापित कोटकालिका मन्दिर जीर्ण बनेसँगै मन्दिरको जीर्णोद्धार सहित पुननिर्माण, सिमेन्टको सट्टा ढलोटको मूर्ति स्थापना र विधिवत् पूजापाठ गरि बुधबार पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले समुद्घाटन गरेका हुन्। समुन्द्री सतहदेखि १९०० मिटर उचाईमा रहेको मन्दिरको मौला र शिला बाहेक सम्पूर्ण संरचनाको पुननिर्माण गरिएको हो। 

मन्दिरको समुद्घाटन एवं सहयोगी चन्दादातालाई सम्मान गर्दै नगरप्रमुख रेग्मीले ऐतिहासिक मन्दिरको पुननिर्माण पश्चात मन्दिर आकर्षक बनेकोले बहाकोटमा आन्तरिक एवं बाह्य पर्यटक भित्रिने बताए। उनले मन्दिरसम्म सजिलै आउने बाटो निर्माणमा आफूले सक्दो सहयोग गर्ने र संघ प्रदेशसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे। 

Hardik ivf

प्रमुख रेग्मीले ऐतिहासिक एवं धार्मिक मन्दिर दर्शनका लागि बहाकोट भित्रिने पाहुनालाई रैथानेबालीको परिकार खुवाउन र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्न होमस्टेका लागि समेत सोंच बनाउन आग्रह गरे।

नुवाकाटे राजाको संरक्षकत्वमै रहको बहाकोटमा घुम्दै मन्दिर क्षेत्रमा पुगेका राजा पृथ्वी वीर विक्रम शाहले बाहिर बाघ सुतिरहेरेको देखेपछि गेटपाले सिपाहीले बाघलाई तरवारले काट्दा दुईटा कन्या दिदी कुश्मावती र बहिनी कठावति उत्पत्ति भई उनीहरूलाई देवीका रुपमा पूजापाठ गर्न थालिएको कथन रहेको स्थानीय पूजारी उदयराज मरासिनीले बताए। 

मन्दिर निर्माण समितिका अध्यक्ष भरतकुमार रानाले सिपाहीले मन्दिर अगाडी सुतिरहेको बाघलाई तरबारले काटेकाले सो ठाउँको नाम बाघकाट र समयान्तरमा अपभ्रम्स भई यस ठाउँको नाम बहाकोट रहन गएको किंवदन्ती रहेको बताउँदै सुतेकै बाघलाई सिपाहीले काटेकाले बहाकोट कोटकालिकाको मौला समेत सुताइएर राख्ने गरिँदै आएको बताए। 

पुतलीबजार नगरपालिका, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय लगायत स्थानीय र बाह्य सहयोगी एंव चन्दादाताको एक करोड बढीको लागतमा पुननिर्माण गरिएको मन्दिरका सचिव कमला रानाले जानकारी दिईन्। मन्दिरमा बडा दसैंको महाअष्टमीको रातमा कालरात्रीको बिशेष पूजापाठ हुने साथै बडादसैको नवमी र चैतेदसैंको अष्ठमीमा पञ्चवली सहित विशेष पूजा हुने गर्दछ। 

कोटकालिका सम्झी भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वासले वरपर लगायत छिमेकी जिल्लाका भक्तजन आउने गरेको मन्दिर निर्माण समितिका अध्यक्ष रानाले बताए। ३ रोपनी ८ आना क्षेत्रफल ओगटेको मन्दिर परिसरमा भ्यू टावर निर्माण, प्याराग्लाइडिङ उडान, बाइसे चौविसे राजाहरुको मौलिकता र संस्कृति झल्कने संग्राहलय निर्माणसँगै गाउँमा होमस्टे निर्माण गरिने आर्थिक समितीका संयोजक इन्द्रबहादुर थापाले बताए। 

अध्यक्ष भरतकुमार रानाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कोषाध्यक्ष सुबेदार मेजर सूर्यबहादुर थापाले स्वागत एंव यदुकुमार रानाले कार्यक्रम संचालन गरेका थिए।
 

प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, असोज ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्