Kathmandu Press

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा उच्च तहका व्यक्ति संलग्न : देउवा

रुपन्देही, फागुन १२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चारमन्त्री ग....

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा उच्च तहका व्यक्ति संलग्न : देउवा
फाइल

रुपन्देही, फागुन १२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा एक्लै संलग्न नरहेको भन्दै उच्चतहको समेत संलग्नता रहेकाले तत्काल निष्पक्ष छानविन अघि बढाउन माग गरेका छन्। 

सोमबार राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको श्रद्धाञ्जली सभालाई रूपन्देहीमा सम्बोधन गर्दै देउवाले अर्बाैंको घोटालामा बाँस्कोटा मात्रै नभई उच्च तहका नेताको संलग्नता रहेको बताएका हुन्। ‘बाँस्कोटा एक्लैले एक अर्बको डिल गर्न सम्भव छैन, यो चानचुने विषय होइन,’ देउवाले भने,‘यो काण्डमा उच्च व्यक्ति पनि संलग्न हुन सक्छन्।’

देउवाले उक्त काण्डको तत्काल निष्पक्ष छानविन गर्न माग गरे। ‘भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने प्रधानमन्त्री एकपछि अर्को भ्रष्टाचार काण्डमा फसेको देउवाले बताए। ‘भ्रष्टाचारका काण्ड कति भए भन्ने गनेर साध्य छैन,’ देउवाले भने, ‘तर भ्रष्टाचारी लुकाउन सरकार नीतिगत रुपमै लागेको छ।’

नीतिगत निर्णयका नाममा सरकारले मनपरी गरेको र आफ्ना कमजोरी चोख्याउने तथा भ्रष्टाचारीलाई उम्काउने काम गरेको उनले बताए।

कार्यक्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले दुई तिहाइको शक्ति प्रयोग गरेर सरकारले अनियमितता गरिरहेको बताए। निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले स्याटलाइट, फोरजीलगायतका खरिद प्रक्रियामा अनियमितता गरेको बताए।

प्रकाशित मिति: १९:५१ बजे, सोमबार, फागुन १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्