ललितपुरले भित्र्यायो तीन पाकिस्तानी खेलाडी
काठमाडौं, फागुन १२ : डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि तीन पाकिस्तानी खेलाडी अनुबन्....

काठमाडौं, फागुन १२ : डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि तीन पाकिस्तानी खेलाडी अनुबन्धन गरेको छ।
ललितपुरले सोमबार विज्ञप्ति जारी गरी नयाँ सिजनका लागि पाकिस्तानी खेलाडी हसन खान, हमाद अजम र बलर मिर हम्जालाई अनुबन्धन गरेको जनाएको छ।
अघिल्लो सिजिन ललितपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका जयकिशन कोल्सावाला, सनी पेटल र गौरब तोमारले भने यसपटक इपिएल खेल्न पाएनन्। यस पटकबाट नेपालका अन्य फ्रेन्चाइट लिग खेलेका विदेशी खेलाडीले इपिएल खेल्न नपाउने नयाँ नियम बनाएपछि उनीहरु ललितपुरबाट बाहिरिएका हुन्।
हसनले सन् २०१८मा यु–१९ विश्वकपमा पाकिस्तानी टिमको कप्तानी गरेका थिए। साथै उनीसँग पाकिस्तान सुपर लिग र ग्लोबल टि–२० लिग क्यानडा खेलेको पनि अनुभव छ। हमाद अजाम घरेलु प्रतियोगिताबाट उदाएका खेलाडी हुन्। उनी अघिल्लो वर्ष भएको पाकिस्तान कपका उत्कृष्ट अलराउन्डर हुन्।
यसैगरी बलर मिरसँग इंग्ल्यान्डको काउन्टी क्रिकेट खेलेको अनुभव छ। उनले सक्सेसबाट काउन्टी क्रिकेट खेलेका थिए। ललितपुरले यसअघि नै श्रीलंकाका भेट्रान ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्धन गरिसकेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चैत १ देखि १५ गतेसम्म चल्ने चौथो संस्करणको इपिएलमा ललितपुरको कप्तानी राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन्।
टिममा ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, रसिद खान, कुशल भुर्तेल, योगेन्द्रसिंह कार्की लगायत खेलाडी छन्। ललितपुरको प्रशिक्षकमा पूर्वराष्ट्रिय खेलाडी राजु बस्न्यात छन्।











