Kathmandu Press

अक्सिजनबिना सगरमाथा आरोहण गर्दै टासीलाक्पा

काठमाडौं, फागुन १२ :  बसन्त याममा अक्सिजनबिना १९ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर गिनिज बुकमा नाम लेखाएका आरोही टासीलाक्पा शेर्पा हिउँदे याममा पन....

अक्सिजनबिना सगरमाथा आरोहण गर्दै टासीलाक्पा
काठमाडाैं प्रेस

काठमाडौं, फागुन १२ :  बसन्त याममा अक्सिजनबिना १९ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर गिनिज बुकमा नाम लेखाएका आरोही टासीलाक्पा शेर्पा हिउँदे याममा पनि रिकर्ड बनाउन फेरि सगरमाथा आरोहणमा निस्केका छन्।

उनले २०६२ मा अक्सिजनबिना सगरमाथा आरोहण गरेर रिकर्ड कायम गरेका थिए। सखुवासभाका ३४ वर्षीय शेर्पा हिउँदे याममा सगरमाथा आरोहण गर्न सोमबार पुन: आधारशिविरतिर लागेका हुन्।

यस पटक उनले पाँच दिनमा सगरमाथा आरोहण गर्ने लक्ष्य राखेका छन्। ‘पहिला वसन्त याममा सगरमाथा आरोहण गरेको हुँ। अब हिउँदमा पाँच दिनमै सगरमाथा आरोहण सम्पन्न गरेर पुनः गिनिज वल्ड रेकर्डमा नाम राख्न चाहन्छु,’ शेर्पाले भने।

उनीसँगै हिउँदे यामको आरोहणमा सहयोगीका रुपमा पासाङ नोर्बु शेर्पा, हलुङ दोर्जी शेर्पा र मिङतेम्बा शेर्पा पनि गएका छन्। टासीले अक्सिजनबिना आरोहण गरेपनि अरु सहयोगीले अक्सिजन प्रयोग गर्ने जानकारी गराएको पर्यटन विभागले जनाएको छ।

विभागको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यका अनुसार टासीले अनुमति लिने क्रममा आफ्नो पाँच दिनको कार्यतालिका पेश गरेका छन्। उनको कार्यतालिका अनुसार शुक्रबार आरोहण गरेर आइतबार काठमाडौैं फर्कने छन्।

उनले आठ पटकसम्म सगरमाथा आरोहण गरेका छन्। यस पटक उनको टोलीले आफै ‘रोप फिक्सिङ’ अर्थात बाटो बनाएर सगरमाथा आरोहण गर्नेछ।

अहिले उनी काठमाडौंस्थित फोट्टिन पिक एक्सपिडिसन प्रालिमा आवद्ध छन्। विभागले उनको समूहको सम्पर्क अधिकृतका रुपमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रायलका उपसचिव दीपक खड्कालाई तोकेको छ।

यस्तो छ कार्यतालिका

विभागमा बुझाएको कार्यतालिकाअनुसार, उनी सोमबार काठमाडौंबाट हेलिकप्टरमार्फत सगरमाथा आधारशिविर पुग्नेछन्। मंगलबार आधारशिविरबाट ६ हजार चार सय मिटर उचाइमा रहेको क्याम्प–२ पुग्नेछन्।

त्यस्तै, बुधबार सात हजार नौ सय ५० मिटर उचाईमा रहेको क्याम्प–३ पुग्नेछन्। बिहीबार क्याम्प–४ पुग्नेछन् भने शुक्रबार त्यही विश्राम गर्नेछन्।

शनिबार क्याम्प–४ बाट सगरमाथा चुचुरोमा पुग्नेछन्। त्यही दिन फर्केर क्याम्प–२ मा पुग्ने योजना छ। उनी आइतबार आधारशिविर पुगेर त्यहाँबाट हेलिकप्टरमा काठमाडौं आउने भएका छन्।

यस्तो छ हिउँदे आरोहण

यसअघि विभागवाट सगरमाथा आरोहण अनुमति लिएर आधारशिविरतर्फ गएका दुई समूहका आरोही सात हजार तीन सय मिटर उचाइसम्म पुगेको विभागले जनाएको छ। हिउँदे यामको सगरमाथा आरोहणका लागि जर्मनीका दुई र स्पेनका तीन आरोहीले अनुमति लिएका थिए।

हिउँदे याममा सगरमाथा आरोहणका लागि थुप्रैले प्रयास गरेका छन्। तर, अहिलेसम्म दुई पटक मात्रै सफल आरोहण भएका छन्। सन् १९८० मा जापानी आरोही र सन् १९९३ मा पोल्यान्डका आरोहीले सगरमाथाको चुचुरोमा टेकेका थिए।

विभागका अनुसार, हिउँदे यामका लागि सन् २०१८ मा एक आरोहीले अनुमति लिएका थिए भने सन् २०१९ मा कसैले पनि अनुमति लिएका थिएनन्।

प्रकाशित मिति: १५:०८ बजे, सोमबार, फागुन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्