कोरोना सङ्क्रमणबाट इटालीमा चार जनाको मृत्यु
रोम, फागुन १२ : इटालीमा कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको छ । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक ८४ वर्षका वृद्....

रोम, फागुन १२ : इटालीमा कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको छ । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो।
इटालीको लोम्बार्डीमै यसअघि अन्य तीन जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको थियो । भाइरसको संक्रमण देखिएसँगै इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ।
इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर आइतबारसम्ममा एक सय ५० जनाभन्दा बढीलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिए । युरोपमै इटालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित व्यक्ति देखिएका छन्।
लोम्बार्डीका १० वटा तथा छिमेकी भेनिटो शहर गाउँलाई अन्य क्षेत्रबाट अलग्याइएको छ र झण्डै ५० हजार मानिसलाई अन्यत्र जान दिइएको छैन।
स्थानीय अधिकारीहरुले बार, रेस्टुराँ र डिस्को बन्द गर्न आदेश दिएका छन्।
कोरोनाकै कारण मिलान फेसन सप्ताह, भेनिस कार्निभल र सिरि ए फुटबल खेलहरु स्थगिन गरिएका छन् । मिलानको निकै लोकप्रिय ला स्कालामा संचालित ओपेराहरु रद्द गरिएका छन्।
इटालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमितहरु लोम्बार्डीमा भेटिएका छन्।












