एसियन गेम्स : टेनिसमा प्रदीप विजयी, बक्सिङमा संगीता र दीपक पराजित
आइतबार भएको पुरुषतर्फको सिंगल्समा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे।
काठमाडौं, असोज ७ : चीनको हाङझावमा जारी १९औं एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले विजयी सुरुआत गरेका छन्।
आइतबार भएको पुरुषतर्फको सिंगल्समा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे।
जितसँगै प्रदीप अन्तिम ३२ मा प्रवेश गरेका छन्। अब प्रदीपले प्रिक्वार्टरफाइनलमा जापानका खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएका छन्।
आइबार नै नेपाली खेलाडीले २ महिला सिंगल्स तथा १ पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। तीनै खेलमा नेपाली खेलाडी पराजित भए।
महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमा वाइ पाएका थिए । दोश्रो चरणमा अभिलाषा थाइल्यान्डकी खेलाडीसँग सोझो सेटमा ६–० र ६–०ले पराजित भइन् भने माहिका दक्षिण कोरियालकी खेलाडीसँग ६–० र ६–१ले पराजित भइन्।
यस्तै, पुरुष डबल्समा प्रदीप र अभिषेक बास्तोलाको जोडी भारतीय जोडीसँग ६–२ र ६–३ ले पराजित भयो।
सोमबार प्रदीपसँगै अभिषेकले पुरुष सिंगल्स तथा अभिलाषा र माहिकाले महिला डबल्समा खेल्नेछन्। सोमारबा नै अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी बक्सिङमा नेपाली खेलाडी संगीता सुनार र दीपक श्रेष्ठ पराजित भए। ६० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी संगीता भियतनामकी खेलाडी लिन्हसँग ५–०ले पराजित भइन्। पुरुष ८० केजी तौल समूहमा दिपक उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५–० ले नै पराजित भए।











