टेस्टमा भारतको लज्जास्पद हार
काठमाडौं, फागुन १२ : न्युजिल्यान्ड भ्रमणमा रहेको भारतीय टिमले टेस्ट क्रिकेटमा लज्जास्पद हार बेहोरोको छ । विलिंघटनमा टेस्ट सिरिजको पहिलो खेलमा भारत घरे....

काठमाडौं, फागुन १२ : न्युजिल्यान्ड भ्रमणमा रहेको भारतीय टिमले टेस्ट क्रिकेटमा लज्जास्पद हार बेहोरोको छ । विलिंघटनमा टेस्ट सिरिजको पहिलो खेलमा भारत घरेलु टोलीसँग १० विकेटको लज्जास्पद हार बेहोर्न बाध्य भयो।
सन् २०१९ मा अपराजित रहेको भारत सन् २०२० को पहिलो खेलमै पराजित भयो । आईसिसी वल्र्ड टेस्ट च्याम्पियनसिपमा भारतको यो पहिलो हार हो । यसअघि भारतले टेस्ट च्याम्पियनसिपमा लगातार ७ खेल जितेको थियो । भारतलाई १० विकेटले हराउँदै न्युजिल्यान्डले भने टेस्ट क्रिकेटमा १ सयौं जित दर्ता गर्यो।
विलिंघटन टेस्टमा भारतले दुवै इनिङमा खराब ब्याटिङ गर्यो भने बलिङ पनि चुस्त बनाउन सकेन। भारत पहिलो इनिङमा १६५ रनमा अलआउट भएको थियो भने दोस्रो इनिङमा पनि उसले १९० रन मात्र बनाउन सक्यो। भारतका लागि मयंक अग्रवाल र अजिन्का रहाणेले मात्र न्यजिल्यान्डको बलिङ आक्रमण निस्तेज बनाउने प्रयास गरेका थिए।
पहिलो टेस्टमा भारतका लागि अर्धशतक बनाउने एकमात्र ब्याट्सम्यान रहे मयंक अग्रवाल। उनले दोस्रो इनिङमा ९९ बल खेल्दै ५८ रन बनाएका थिए भने पहिलो इनिङमा ३४ रन बनाए। यस्तै, रहाणेले पहिलो इनिङमा ४४ र दोस्रो इनिङमा २९ रन बनाए । दुवै इनिङमा भरपर्दा ब्याट्सम्यान कप्तान विराट कोहली र चेतेश्वर पुजार नचल्दा भारत दबाबमा आएको थियो । कोहलीले २ र १९ रन बनाउँदा पुजाराले दुवै इनिङमा समान ११ रन मात्र बनाए।
भारतले बलिङमा पनि राम्रो गर्न सकेन। दुवै इनिङमा न्युजिल्यान्डको टप अर्डरले दबाब राखेपनि पुछारका ब्याट्सम्यान भारतीय बलरविरुद्ध खुलेर खेल्दै उल्लेख रन बनाए । भारतका इशान्त शर्माले ५ र रविचन्द्रन आश्विनले ३ विकेट लिए।
न्युजिल्यान्डले पहिलो इनिङमा ३४८ रन बनाएको थियो। उसका कप्तान केन विलियम्सनले सर्वाधिक ८४ रन बनाउँदा रोस टेलर र कायल जामिसनले समान ४४ रन बनाए । यस्तै, कोलिन डे ग्रान्ड होमले ४३ र ट्रेन्ट बोल्टले ३८ रनको योगदान दिए।











