क्यानको सचिवमा पारस खड्का निर्वाचित
निवर्तमान कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पारस सचिवामा निर्वाचित भएका हुन्।
काठमाडाैं, असाेज ६ : नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन्। निवर्तमान कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पारस सचिवामा निर्वाचित भएका हुन्।
शनिबार भएको मतदानमा कुल ८५ मत मध्ये पारसले ४८ ल्याउँदा र प्रशान्तले ३७ मत मात्र प्राप्त गरे।
२ वर्षअघि मात्र खेल जीवनबाट सन्न्यास लिएका पारस काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्ष, बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष हुँदै क्यानको सचिव बनेका हुन्।
साधारणसभाबाट अध्यक्षमा चुतरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का पनि निर्विरोध भएका थिए।
महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध रहे ।
निर्वाचनमार्फत कोशी प्रदेशबाट अर्जुन पौडेल, बागमती प्रदेशबाट दिवाकर घले, गण्डकी प्रदेशबाट सुदीप शर्मा, सुदुरपश्चिम प्रदेशबाट बिक्रम विष्ट, मधेश प्रदेशबाट माधव कर्माचार्य निर्वाचित भए । मधेशबाट कर्माचार्य र मोहम्मद अन्सारीको समान ४२ मत आएपछि गोलाप्रथाबाट कर्माचार्य निर्वाचित भएका हुन् ।
खुल्ला सदस्यमा धिरेन्द्र सावदले ५९, दुर्गा पाठकले ५४, आयुस श्रेष्ठले ५१, विरेन्द्र चन्द ३४, करन महत्रा क्षेत्री निर्वाचित भए । खुल्ला सदस्यमा महत्रा र ऋषि गौतमले समान २६ मत प्राप्त गरेपछि गोलाप्रथाबाट महत्रा निर्वाचित भए।











