कोरियामा पनि कोरोना भाइरसको महामारी, सातको मृत्यु
काठमाडौं, फागुन १२ : अत्यधिक नेपाली कामदार रहेको दक्षिण कोरियामा पनि कोरोना भाइरसले महामारीको रुप लिएको छ। दुई दिनमै सात जनाको मृत्यु भएको छ।
<....
काठमाडौं, फागुन १२ : अत्यधिक नेपाली कामदार रहेको दक्षिण कोरियामा पनि कोरोना भाइरसले महामारीको रुप लिएको छ। दुई दिनमै सात जनाको मृत्यु भएको छ।
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण देखिएको एक साता भएको छ। यो अवधिमा सात जनाको मृत्यु भएको छ। सोमबार बिहानसम्म दक्षिण कोरियामा सात ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
विशेष गरेर दक्षिण कोरियाको शहर डेंगुमा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण महामारीको रुप लिएपछि शहर नै बन्द गरिएको छ।
विद्यालय, कलेज, विश्वविदालय बन्द गरिएका छन्। बजार पनि बन्द गरिएको छ। स्थानीय वासिन्दालाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ।
यससँगै डेंगु शहरको यातायात सेवा पनि बन्द गरिएको छ। त्यहाँबाट अन्य शहर आवतजावत गर्ने हवाइसेवा पनि बन्द गरिएको छ। कोरियन सञ्चारमाध्यमका अनुसार, कोरियन एयर, एसियना एयरलाइन्स र एयर बुसानले उडान बन्द गरेको छ।
दक्षिण कोरियासँग अन्य देशमा पनि कोरोना भाइरसको संक्रमणले तिव्र रुप लिएको छ। चीन र कोरियासँगै नौ देशमा दुई हजार ६ सय १९ जनाले ज्यान गुमाइसकेका छन्।
विश्व स्वास्थ्य संघ (डब्लूएचओ)का अनुसार, चीनमा दुई हजार पाँच सय ८२, इरानमा आठ, दक्षिण कोरियामा सात, जापानमा चार, इटालीमा तीन, हङकङमा दुई, फिलिपिन्स, फ्रान्स र ताइवानमा एक–एक जनाले ज्यान गुमाएका छन्।
त्यस्तै, बिरामीको संख्या पनि ७९ हजार नाघेको छ। डब्लूएचओका अनुसार, अहिलेसम्म २८ देशमा ७९ हजार तीन सय ५६ जना बिरामी भेटिएका छन्। उनीहरूमध्ये ७७ हजार एक सय ५० जना चीनमा छन्। चीनमा पनि बिरामीको संख्या घटेको छैन। दिनदिनै बढ्दै गएको छ।
डब्लूएचओका अनुसार, चीनमा उपचार गरेर घर फर्किनेहरूको संख्या पनि विस्तार बढिरहेको छ। सोमबार बिहानसम्म २४ हजार सात सय ३४ जना निको भएर घर फर्केका छन्।











