राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउनेबारे ओली र प्रचण्डबीच बालुवाटारमा छलफल
काठमाडौं, फागुन १२ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन्। द....

काठमाडौं, फागुन १२ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन्। दुवै अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरू भएको छ।
दुई अध्यक्षबीचको छलफलमा संविधान संशोधनको विषय प्रमुख एजेन्डा रहेको जनाएको छ। वालुवाटार स्रोतका अनुसार, राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउन सक्ने गरि संविधान संशोधनका विषयमा छलफल भइरहेको छ।
नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सदस्यमा राष्ट्रपतिबाट मनोनित गर्ने तयारी छ। त्यसका लागि गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरि संविधान संशोधन गर्नुपर्ने माग गर्दै आएका छन्। अहिलेको संवैधानिक व्यवस्थामा प्रतिनिधिसभा सदस्य मात्रै प्रधानमन्त्री हुने व्यवस्था छ।
राष्ट्रिय सभाका १९ सदस्यको फागुन २० गते समयावधि सकिँदै छ। त्यसमध्ये १८ जना माघ ९ गते भएको निर्वाचनमा निर्वाचित भइसकेका छन्। एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ।
त्यहि एक जनामा वामदेव गौतमलाई सिफारिस गर्न प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड छलफलमा जुटेको जनाएको छ। गौतमलाई राष्ट्रिय सभामा ल्याउन ओली पनि सकारात्मक छन्।
तर, राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउने गरि संविधान संशोधन गर्न भने सहमति बनेको छैन। त्यसका लागि दुवै अध्यक्ष छलफल भइरहेको जनाएको छ।
यससँगै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको विषयमा पनि छलफल हुने जनाएको छ।
दुवै अध्यक्ष छलफलमा जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। उनले समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताए। त्यसमध्ये राष्ट्रिय सभा सदस्यको विषय पनि रहेको उनको भनाइ छ।
नेकपा अध्यक्ष प्रचण्ड बिहान १० बजे बालुवाटार पुगेका हुन्।











