युनाइटेडमाथि बायर्नको रोमाञ्चक जित
बुधबार राति घरेलु मैदानमा भएको खेलमा बायर्नले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडमाथि ४–३को रोमाञ्चक जित निकाल्यो।
काठमाडौं, असोज ४ : च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले विजयी सुरुआत गरेको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा बायर्नले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडमाथि ४–३को रोमाञ्चक जित निकाल्यो।
७ गोल भएको खेलमा बायर्नका लागि ह्यारी केन, सर्ज गनाब्री, लिरोए साने र म्याथिस टेलले गोल गरेका थिए। यता, युनाइटेडका लागि कासिमिरोले २ तथा रास्मस होजलुन्डले गोल गरे।
सानेले २८औं मिनेटमा केनको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाए। ३२औं मिनेटमा गनाब्रीले गोल गरेपछि पहिलो हाफमा बायर्नले अग्रता दोब्बर बनायो।
तर, दोस्रो हाफको सुरुआतमै गोल गर्दै युनाइटेडले खेलमा फर्कने प्रयास गर्यो। ४९औं मिनेटमा युनाइटेडका होजलुन्डले गोल गरे। यसैसिजन युनाइटेड आएका होजलुन्डको यो क्लबका लागि पहिलो र च्याम्पियन्स लिगको पनि पहिलो गोल हो।
तर, ५४औं मिनेटमा इंग्लिस फरवार्ड केनले पेनाल्टीमा गोल गरेपछि बायर्नले ३–१ को अग्रता बनायो। डिबक्समा क्रिस्टियन एरिक्सनले ह्यान्ड गरेपछि बायर्नले पेनाल्टी पाएको थियो।
फेरि ८८औं मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडको आशा जगाए। तर, इन्जुरी समयको दोस्रो मिनेटमा युवा स्ट्राइकर टेलले गोल गर्दै बायर्नलाई ४–२को अग्रता लियो। इन्जुरी समयको पाँचौं मिनेटमा कासिमिरोलो पुनः गोल गरे गर्दै खेललाई ४–३मा ल्याए। तर, टिमलाई हारबाट जोगाउन सकेनन्।











