संविधानको व्यवहारमा प्रयोग गर्नुको विकल्प छैन : प्रदेश प्रमुख
उनले इतिहासमा नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भएको आजको महत्वपूर्ण दिनको स्मरण गर्दै नेपाली समाजको विविधतामा एकता अपरिहार्य भएको बताए।सुर्खेत, असोज ३ : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको रक्षा र व्यवहारमा प्रयोग गर्नुको विकल्प नभएको बताएका छन्।
संविधान दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले इतिहासमा नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भएको आजको महत्वपूर्ण दिनको स्मरण गर्दै नेपाली समाजको विविधतामा एकता अपरिहार्य भएको बताए।
‘नेपाल सयौँ जातजाति, भाषाभाषी, विविध सांस्कृतिक र धार्मिक आस्था राख्ने जनताको सङ्गमको थलो हो, यी सबैको भावनाको प्रतिनिधि नेपालको संविधान २०७२ ले प्रतिनिधित्व गरेको छ,’ उलने भने।
सामाजिक न्यायमा आधारित समतामूलक समाजको निर्माण तथा आत्मनिर्भर अर्थतन्त्र विकास गर्नुपर्ने राष्ट्रिय सङ्कल्प आवश्यक भएकामा जोड दिँदै प्रदेश प्रमुख परियारले समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि सबै सरोकारवालाहरुलाई एकताबद्ध भई अगाडि बढ्न अपिल गरे।