काश्मिरी आमाको मोदीलाई प्रश्न- बुढेसकालको सहारा छिनेर तपाईंलाई शान्ति मिल्छ?
काश्मिर, फागुन ११ : छोराको रिहाइको दुआ माग्न हरेक दिन मस्जिद गइन्, छोरो निर्दोष छ भन्दै जेलबाट छुटाउने आदेश लिन अदालत पनि धाइरिहन् अत....

काश्मिर, फागुन ११ : छोराको रिहाइको दुआ माग्न हरेक दिन मस्जिद गइन्, छोरो निर्दोष छ भन्दै जेलबाट छुटाउने आदेश लिन अदालत पनि धाइरिहन् अतिका बेगम। अल्लाहबाट दुआको आश अझै मरेको छैन। अदालती झन्झट कति झेल्नुपर्ने हो अत्तोपत्तो छैन।
७० वर्षीया अतिकाको आँखामा निन्द्रा छैन, आत्मामा चैन छैन। 'सात महिनादेखि छोरालाई रिहाइ गर्न अदालतको तारेख र अल्लाहसँग दुआ माग्न मस्जिद धाइरहेकी छु,' बेगम भन्छिन्।गत अगष्टमा भारतले काश्मिरको स्वायत्तता नमान्ने निर्णय गरेको दिन थियो। २२ वर्षीय मिर आमाको औषधि किन्न निस्किएका थिए।
औषधि लिन गएका उनी पृथकतावादी आन्दोलमा सहभागी भएको अभियोगमा जेल चलान भए। नागरिक सुरक्षा ऐन अन्तर्गत पक्राउ परेका मिर अहिले भारतको आग्रा जेलमा छन्। अतिकालाई छोराको अनुहार हेरर आत्मा शान्त पार्न मन छ। श्रीनगरदेखि ११ सय किलोमिटर परको यात्रा गर्न उनी सक्दिनन्। अशक्त भएर हैन उनलाई आर्थिक समस्या छ।'
'छोरा हेर्न जान औधी मन छ तर मसँग यात्रा गर्न पुग्न समेत धन छैन, उ मेरो संसार हो उसको अनुपस्थितिले म पागल मात्र हुन बाँकी छ,' ओभाना आखाँका साथ अतिका भन्छिन्। सात महिनादेखि उनको बेचैनी देखेर छिमेकीहरु सहानुभूतिको शब्द प्रकट गर्दै धैर्यधारण गर्न सुझाव दिन्छन्। छिमेकीहरुलाई उनी उल्टै प्रश्न गर्छिन्-मेरो छोराको स्थिति अहिलेसम्म थाहा पाएको छैन। उसको अवस्था कस्तो छ थाहा नहुँदा म कसरी धैर्य हुन सक्छु?
काश्मिरको स्वायतत्ताको माग गर्दै पृथकतावादी समूह सक्रिय छन्। पक्राउ भने निर्दोष र निमुखा पक्राउ पर्छन्। अगष्ट पाँचदेखि डिसेम्बर ३१ सम्म भारतीय प्रहरीले ४ सय १५ जना निर्दोषलाई पक्राउ गरेको श्रीनगर नागरिक समाजकको भनाइ छ।
पक्राउ परेकाहरु पृथकतावादी नभएपनि दंगा फसादमा संलग्न भएको भारतीय प्रहरीको भनाइ छ। 'पक्राउ परेकाहरु पृथकतावादी नहुन सक्छन् तर उनीहरु दंगा फसादमा संलग्न भएको जाहेरीका आधारमा पक्राउ गरिएको हो,' एक प्रहरी अधिकृतले भने।
भारतले संविधानको धारा ३ सय ७० खारेज गर्दै काश्मिरको श्रीनगर भारतको पूर्ण शासकीय क्षेत्रको रुपमा घोषणा गर्यो । कट्टर हिन्दूवादी, भारतीय जनता पार्टीले त्यहाँ शासन गर्छ। भाजपाले शासन गरेलगत्तै मुस्लिम समुदायप्रति धरपकड बढेको र आधारभूत आवश्यकताका सामग्री समेत कटौती गरेको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी संस्थाहरुले कडा विरोध गरेका थिए।
अन्तर्राष्ट्रिय संघसंस्था तथा श्रीनगरवासीहरुको आवाजलाई समेत वेवास्था गर्दै त्यहाँ प्रहरीले धरपकड कायम राखिरह्यो। घरमै रहेका ४५ जना युवाहरुलाई प्रहरीले पृथकतावादी आन्दोलनमा सहभागी भएको आरोपमा फेरि पक्राउ गरेको छ।
पृथकतावादी आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेका ४ सय १५ जनाको स्थिति के छ दुई सय दिन बित्दा पनि परिवारले अत्तोपत्तो पाएका छैनन्। बुढ्यौलीमा सहाराको आश गरेका छोरा दुई सय दिनदेखि जेलमा पर्दा बेगमको बेचैनी बढ्दो छ। उनको प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रश्न छ- मेरो सहारा छिनेर तपाईंलाई शान्ति मिल्छ?
-एजेन्सीको सहयोगमा











