कुनै डर नराखी नाटक मञ्चन गर्न पाउने वातावरण बनाइदिन माग

काठमाडौं, भदौ ३१ : नाट्यकर्मी महासंघ नेपालले कुनै डर–त्रासबिना नाटक मञ्चन गर्न पाउने नाट्यकर्मीको मौलिक हकको प्रत्याभूति गराइदिन र शान्ति सुरक्षाको व्यवस्थापन गरिदिन सरकारसँग माग गरेको छ।
महासंघका अध्यक्ष राजेन्द्र रिमाल आज एक विज्ञप्ति जारी गरेर केही दिनयता नाटक मञ्चनको विषयलाई लिएर देखिएको विवादको सम्बन्धमा संघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारसमक्ष त्यस्तो माग गरेको हो।
‘ह.राम पण्डित’को नाममाथि आपत्ति जनाउँदै हिन्दु जागरण मञ्च र शिवसेना नामका संस्थाबाट धम्कीपूर्ण दबाब आएपछि नाटकको शीर्षक नै परिवर्तन गरी मञ्चन गर्न बाध्य बनाइनु दुःखद भएको बताउँदै महासंघले भनेको छ, ‘हरेक असहमतिको समाधान संवादबाट गर्न सकिने वा कानुनी बाटो अख्तियार गर्न सकिने अवस्था रहँदा रहँदै स्रस्टालाई हुलहुज्जत र धम्कीपूर्ण व्यवहार गर्नु लोकतान्त्रिक चरित्र हुँदै होइन। तर दुवै पक्ष बसेर एक तहको सहमति भइसकेको अवस्थामा यही विषयलाई थप विवादास्पद बनाउन चाहँदैनौं।’
प्रसिद्ध व्यंग्यकार भैरव अर्यालका केही निबन्धहरुलाई आधार बनाएर नाट्य रुपान्तरण गरी काठमाडौंमा यही भदौ २७ गते देखि मञ्चन भइरहेको उक्त नाटक मञ्चन भइरहेको थियो।
विगतमा निकै लामो र कष्टपूर्ण संघर्षबाट मात्र प्राप्त भएको र नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक माथि भएको हस्तक्षेपको महासंघले विरोध जनाउँदै भनेको छ, ‘नाटक लेखन तथा मञ्चनको क्षेत्रमा हुने कुनै पनि किसिमको अनावश्यक हस्तक्षेप, दबाव वा निषेधको नाट्यकर्मी महासंघ सदैव अस्वीकार गर्दछ। र, यस्ता गतिविधिको विरुद्धमा नाट्यकर्मी महासंघ मौन बस्न सक्दैन। संविधान प्रदत्त मौलिक हकको रक्षार्थ जुनसुकै हदसम्म जान सक्ने कुरामा सबैलाई सचेत गराउँदछौं।’
अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक भनेको ठुलो जिम्मेवारी पनि भएको महासंघको भनाइ छ। स्वतन्त्रता भनेको सीमाविहीन र अनुशासनविहीनता पनि होइन भन्नेमा महासंघ सचेत रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
‘पछिल्लो समय कतिपय सर्जकहरुले नाटक, चलचित्र वा पुस्तक आदिको प्रचारका लागि अप्राकृतिक शैली अपनाउन थालेकोले त्यसको नकारात्मक परिणाम पनि देखिन थालेको छ। व्यक्तिगत फाईदा र तुष्टिको लागि गरिने यो शैलीको कथित ‘स्क्याण्डल’ ले भविष्यमा झन भयावह स्थिति सिर्जना गर्नेछ। त्यसको सबैभन्दा ठूलो मुल्य स्रष्टा स्वयं र समाजले व्यहोर्नु पर्ने निश्चित छ,’ विज्ञप्तिमा भनिएके छ, ‘अहिले हामी निकै संवेदनशील अवस्थामा छौं। नेपाली समाजलाई विखण्डित गरी द्वन्द्व सिर्जना गर्ने निरन्तर प्रयास भईरहेको छ। त्यसैले जाति, धर्म, समुदायको संवेदनशीलताको जिम्मेवारी पनि हाम्रै हो भन्ने कुरामा सचेत रहन सम्पूर्ण स्रष्टाहरुलाई समेत आग्रह गर्दछौं।’
नाट्यकर्मीहरुले दबाबमा वा डरमा वा असुरक्षित वातावरणमा नाटक गर्नुपर्ने अवस्था भनेको एकातिर नाट्यकमीहरुले स्वतःस्फूर्त रुपमा प्रस्तुत हुन नसक्ने र अर्कातिर राज्यको सुरक्षा संयन्त्रमाथि नै चुनौती देखिएको पनि महासंघले ठहर गरेको विज्ञप्तिमा स्पष्ट पारिएको छ।