इमेलको उत्तर दिनुहुन्न ? वृत्ति विकास नहोला है !
‘माफ गर्नुहोला ! हिजो तपाईं मतिर हेर्दै हात हल्लाउँदै हुनुहुन्थ्यो । मसँग बोल्न खोज्दै हुनुहुन्थ्यो । तर, मसँग तपाईंतिर फर्किने पनि फुर्सद थिएन ।’
<....‘माफ गर्नुहोला ! हिजो तपाईं मतिर हेर्दै हात हल्लाउँदै हुनुहुन्थ्यो । मसँग बोल्न खोज्दै हुनुहुन्थ्यो । तर, मसँग तपाईंतिर फर्किने पनि फुर्सद थिएन ।’
के तपाईंले कुनै सहकर्मी वा परिचित मित्रलाई कहिल्यै यस्तो भन्नुभएको छ ?
सायद छैन होला ! आफूलाई अभिवादन गर्ने व्यक्तिलाई हामी सकेसम्म बेवास्ता गर्दैनौँ । यस्तो व्यवहार गर्नु निकै अशिष्ट मानिन्छ ।
तर, के तपाईंले सबैको इमेलको जवाफ फर्काउनुहुन्छ ?
जसरी आफूसँग कुरा गर्न खोज्ने व्यक्तिसँग तर्किनु अशिष्टता हो, कसैको इमेल पढेर पनि नपढेको जस्तो गर्नु पनि अशिष्टता हो ।
आजको समयमा इमेलको उत्तर नदिनु भनेको ९० को दशकमा फोन कल रिसिभ नगर्नु अथवा ५० को दशकमा चिट्ठीको जवाफ नलेख्नु जत्तिकै अशिष्टता हो
हो, हामी सबै इमेलै इमेलले पुरिएका हुन्छौँ । एउटा नयाँ सर्वेक्षण अनुसार, हरेक अमेरिकीको ‘इनबक्स’मा सधैं औसत १९९ नपढिएका इमेल हुन्छन् । तर, इमेल धेरै आउने भएकाले उत्तर दिन पाइनँ वा सक्दिनँ भन्नु शोभनीय होइन ।
इमेलको जवाफ नदिनुको अर्थ यसो भन्नु हो – तिम्रो कुरा मेरो लागि महत्वपूर्ण छैन । इमेलको उत्तर नदिनेहरूको भनाइ प्रायः एउटै हुन्छ – मेरो कामको इमेल आउँदैन, अरुकै कामको इमेलमात्रै आउँछ ! तर, इमेलको उत्तर नदिने बानी एउटा कमजोरी हो, जसले तपाईंको व्यवसायिक उन्नतिको बाटो छेक्छ ।
एक अनुसन्धानको क्रममा इमेल फर्काउने र नफर्काउने माइक्रोसफ्टका कर्मचारीहरूको व्यवहारको सूक्ष्म विश्लेषण गरिएको थियो, जस क्रममा इमेलको उत्तर नदिनु वा ढिलो दिनु व्यवस्थापकीय दक्षताको कमी भएको देखियो । समयमै इमेलको प्रत्युत्तर दिनेहरू चाहिँ व्यवस्थित, भरपर्दाे र मेहनती भएको देखियो ।
आखिर, जो व्यक्ति अनलाइनमा शिष्ट हुन्छन्, वास्तविक दुनियाँमा पनि उनी नै शिष्ट हुन्छन् । जो अनलाइनमा पनि शिष्ट हुँदैनन्, वास्तविक दुनियाँमा पनि शिष्ट हुँदैनन् ।
तर, हरेक इमेलको उत्तर दिनुपर्छ भन्ने होइन । कसले कतिखेर के इमेल पठाउँछ भनेर सधैं कुरेर बस्नुपर्छ भन्ने पनि होइन । जसले तपाईंलाई तपाईंसँग बिल्कुलै सम्बन्ध नभएको विषयमा इमेल पठाउँछन्, उसलाई जवाफ फकाईरहनु पर्दैन । जसरी इमेलको उत्तर नदिनु अशिष्टता हुन्छ, आफूसँग असम्बन्धित इमेलको उत्तर दिनु पनि उस्तै अशिष्टता हुन्छ ।
तर, कुन इमेलको उत्तर दिनैपर्ने र कुन इमेलको उत्तर नदिँदा पनि हुन्छ भनेर कसरी छुट्याउने ? यसबारे मेरा आफ्नै साधारण नियमहरू छन् ।
जसले आफ्नो समाचार वा लेख–रचना सामाजिक सञ्जालमा ‘शेयर गर्देऊ’ भन्दै इमेल पठाउँछन्, तिनलाई म कुनै जवाफ दिन्नँ । जो मलाई मेरा चर्चित वा प्रभावशाली साथीसँग परिचय गर्ने उद्देश्यले इमेल गर्छन्, तिनलाई पनि म वास्ता गर्दिनँ । कोही आफ्नै सिर्जनाबारे घण्टौं सल्लाह लिन इमेल गर्छन् । कोही चाहिँ एक्कासि ‘फोनमा कुरा गरौं है’ भनेर इमेल गर्छन् । तिनलाई पनि म जवाफ दिन्नँ ।
खासै नचिनेका व्यक्तिले महिनामा दर्जनौं इमेल पठाएर कुनै सहयोगका लागि आग्रह गरे त्यसलाई पनि बेवास्ता गर्दिन्छु । त्यसप्रति मलाई कुनै ग्लानि हुँदैन ।
कस्तो इमेलको जवाफ दिनैपर्ने वा कसको दिनुहुन्न भनेर हामी सबैले सीमा निर्धारण गर्नुपर्दछ । कार्यालय वा काम गर्ने समयभन्दा बाहिर असंख्य इमेलको उत्तर दिन कसैलाई पनि बाध्य पार्नुहुँदैन । त्यसैले केही कम्पनीहरूले राति वा सप्ताहन्तमा इमेल हेर्ने सम्बन्धमा केही नीति बनाएका छन् ।
मेरो चिनजानका केहीले बिहान नौदेखि दश बजेसम्म र प्रत्येक दिन दिउँसो दुईदेखि तीन बजेसम्म मात्रै इमेलमा सम्पर्क हुने बताउँछन् । त्यस बीचमा सम्पर्क हुँदैन भनेर उनीहरू निर्धक्क भन्छन् । आकस्मिक नभएसम्म, कसैले पनि प्रतिक्रिया तुरून्तै आओस् भन्ने अपेक्षा गर्नुहुँदैन ।
जुनसुकै सीमा तय गरे पनि, इनबक्स बेवास्ता नगर्नुहोस् । आजको समयमा इमेलको उत्तर नदिनु भनेको ९० को दशकमा ‘फोन कल रिसिभ’ नगर्नु अथवा ५० को दशकमा चिट्ठीको जवाफ नलेख्नु जत्तिकै हो ।
इमेल घरमा भएको लथालिंग हैन, जसलाई मेरी कोन्डो आएर मिलाइ दिऊन् ।
न्यूयोर्क टाइम्स