Kathmandu Press

प्रधानमन्त्री दाहालले भने– घोषणा गरिएका पुरस्कार खेलाडीले अझै नपाएको विषयले गम्भीर बनाएको छ

‘यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको भन्ने समाचारहरूले मलाई गम्भीर बनाएको छ। छिट्टै यो समस्या समाधान गरिनेछ। तपाईंहरूको मनोबल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहनेसमेत म आग्रह गर्दछु।’
प्रधानमन्त्री दाहालले भने– घोषणा गरिएका पुरस्कार खेलाडीले अझै नपाएको विषयले गम्भीर बनाएको छ

काठमाडाैं, भदाै २८ : प्रधानमन्त्री पुष्पकमल दाहालले घोषणा गरिएका पुरस्कार खेलाडीहरुले अझैसम्म नपाएको विषयले आफूलाई गम्भीर बनाएको बताएका छन्।

१९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ गर्दै प्रधानमन्त्री दाहालले यसअघि घोषित पुरस्कार खेलाडीलाई छिट्टै दिलाइने बताएका हुन्।

एसिया कप खेलर फर्किएको नेपाली क्रिकेट टिमका सदस्यले सरकारले घोषणा गरेको जनही १७ लाख रुपैयाँ पुरस्कार ६–७ महिना बितिसक्दा पनि नपाएपछि अहिले सरकारको चर्चो आलोचना भइरहेको छ।

‘यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको भन्ने समाचारहरूले मलाई गम्भीर बनाएको छ। छिट्टै यो समस्या समाधान गरिनेछ,’ उनले भने, ‘तपाईंहरूको मनोबल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहनेसमेत म आग्रह गर्दछु।’

नेपालले मार्सल आर्टमा विगतमा राम्रो सफलता हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसपटक पनि राम्रो गर्ने सरकारको विश्वास रहेको बताए।

‘पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ, सफलता हासिल गरिरहेको छ। धेरै खेलहरूमा नेपाली खेलाडीहरूको राम्रो प्रस्तुति देखिएको छ, तपाईंहरूको अथक् मिहिनेत र परिश्रम देख्दा म आफूलाई समेत गौरवको अनुभूति हुने गरेको छ । मलाई पूर्ण विश्वास छ– यसपटक तपाईहरूले थप राम्रो गर्नुहुनेछ, देशको गौरव र उचाइ बढाउनुहुनेछ,‘ प्रधानमन्त्री दाहालले भने।

सरकार हमेशा खेलाडीहरूको साथमा रहेको जनाउँदै प्रधानमन्त्री दाहालले उच्च मनोबल र दृढताका साथ प्रतियोगितामा सहभागी हुन अपिलसमेत गरेका छन् ।

प्रकाशित मिति: १८:२६ बजे, बिहीबार, भदौ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्