गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा जर्मन कम्पनीलाई सुम्पने तयारी
काठमाडौं, फागुन ७ : सरकारले भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि संचालनको जिम्मा जर्मनीको एक कम्पनीलाई सुम....
काठमाडौं, फागुन ७ : सरकारले भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि संचालनको जिम्मा जर्मनीको एक कम्पनीलाई सुम्पने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा हेरिएको सो विमानस्थल संचालन सरकारले ‘गभर्मेन्ट टु गभर्मेन्ट (जिटुजी)’ मोडलमा जर्मनीको म्युनिख विमानस्थललाई दिनेगरी मन्त्रिपरिषदमा प्रस्ताव दर्ता गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा मिलाएर ‘जिटुजी’ मोडलमा जिम्मा दिन सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएका हुन् । ‘विमानस्थल कम्पनी छनोट भने ‘जिटुजी’ मोडलमा गर्न लागिएकोले मन्त्रालयले मन्त्रिपरिषदमा सहमतिका लागि प्रस्ताव लगिएको हो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।
मन्त्रालय स्रोतका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारी र म्युनिख विमानस्थल व्यवस्थापनबीच आधा दर्जन वार्ता भइसकेको छ ।
म्युनिखलाई विमानस्थल जिम्मा दिन अर्थमन्त्री डा. युवाराज खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका छन् । मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमतिपछि बाँकी प्रक्रिया अगाडी बढाउने मन्त्रालयको तयारी छ ।
यता विमानस्थल निर्माणको अन्तिम चरणमा पुग्दा समेत कुन मोडलमा संचालन गर्ने भन्ने विषय नटुंगिएपछि नागरिक उड्डयन प्राधिकरणले आफै संचालनको तयारी सुरु गरेको थियो ।
प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको बैकल्पिक विमानस्थलको रुपमा हेरिएको भैरहवा विमानस्थल जुन २० अर्थात असार ५ गतेदेखि संचालनमा ल्याइने घोषणा गरेका थिए । अर्थमन्त्रालयले विमानस्थलको मुआव्जा वितरणका लागि ४ अर्ब रुपैयाँ थपसमेत गरेको छ ।
म्युनिखसंगै साउदी अरब, कतारलगायत देशले पनि सो विमानस्थल संचालनका लागि चासो देखाएका छन् । मन्त्री रविन्द्र अधिकारी भने जिटुजीमा सम्भव नभए आशय पत्र (एलओआई) मागेर भएपनि जर्मन कम्पनीलाई दिने तयारीमा छन् ।
अहिलेको प्राधिकरणले विमानस्थल संचालन गर्न नसक्ने भएकाले पीपीपी (सार्वजनिक, निजि सोझेदारी) मोडलमा नयाँ विमानस्थल संचालनका लागि अर्थ मन्त्रालयले केही समय अगाडी सहमतिसमेत दिइसकेको छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सन् २०१६ देखि विमानस्थल निर्माण सुरु भएको हो । भूकम्प र भारतीय नाकाबन्दीले गर्दा एक वर्ष धकेलिएको थियो । २०१८ मा संचालनमा ल्याउने बताउँदै निर्माणको ठेक्का पाएको चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन र स्थानीय ठेकेदारसँगको झगडाका कारण ७ महिना निर्माण कार्य ठप्पसमेत भएको थियो ।
चिनियाँ ठेकेदारले काम सन्तोषजनक रुपमा नगरेको भन्दै एडीबीले ठेकदार हटाउनसमेत नेपाल सरकारलाई चेतावनी दिएको थियो । तर पछिल्लो समय मुलुकभरका अन्य राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा तीब्र गतिमा गौतमबुद्ध विमानस्थलको काम अघि बढेको मन्त्री अधिकारीले दावी गर्दै आएका छन् ।
आयोजना निर्माणको लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो । तर लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने भएको छ । यता मुअब्जाको लागि २३ अर्ब रुपैयाँ माग गरिएको छ । अहिलेसम्म ९ अर्ब वितरण गरिएको र अब बाँकी निकाशा गर्दै जाने तयारी सरकारको छ ।
यो विमानस्थलमा एयरवसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गर्न सकिन्छ । विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण पनि भएकोे छ । विमानस्थल ३ हजार मिटर लामो धावनमार्ग र ४५ मिटर चौडाइ छ । धावनमार्गको कालोपत्रेको काम सम्पन्न हुने चरणमा रहेको छ भने टर्मिनल भवन समेत निर्माणको अन्तिम चरणमा पुगेको छ । बाँकी इक्युपमेन्ट राडार, बत्ति तथा प्राविधी जडानको लागि टेन्डर प्रक्रियाबाट कम्पनी छनोट हुने प्रक्रियामा छ ।