एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग
एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा आज बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएकाे हाे।
काठमाडाैं, भदाै २५ : अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै गरिएको छ।
एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा आज बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध निवेदन दर्ता गरिएकाे हाे। अविश्वास प्रस्तावमा ४९ सदस्यले हस्ताक्षर गरेका छन्। एन्फाको विधान धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष साधारण सभा बोलाउन निवेदन दिएको बताएका छन्।
एन्फाको साधारणसभामा ८६ सदस्य छन्। अविश्वासको प्रस्ताव दर्ता गर्न ४० प्रतिशत सदस्यको हस्ताक्षर भए पनि पुग्छ। तर पारित गर्न दुई तिहाई बहुमत चाहिन्छ । अविश्वासको प्रस्ताव इमेलमार्फत पठाइए पनि भौतिक रुपमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई भेटेर पनि बुझाइएको जनाइएकाे छ।

४० प्रतिशत सदस्यको निवेदनमा एन्फाको विधानअनुसार आगामी असोज २३ सम्ममा विशेष साधारण सभा बोलाउनुपर्ने उल्लेख छ। एन्फाले साधारणसभा नबोलाए आफूहरूले साधारण सभा आह्वान गर्ने पनि सदस्यहरूले लेखेको निवेदनमा उल्लेख छ।
साधारण सभामा दुई तिहाइ मत पुगेको अवस्थामा मात्र बर्खास्त हुन सक्ने प्रावधान छ। उनीहरूले एन्फाका अध्यक्ष र महासचिव नेपाली फुटबललाई धराशयी बनाउन उद्यत रहेको र उनीहरू पदमा रहे नेपाली फुटबलको भविष्यमा नै क्षति पुग्ने निवेदकको आरोप छ। असार २०७९ मा एन्फाको अध्यक्ष चुनिएका नेम्वाङ कार्यकालको सुरुदेखि नै विवादमा पर्दै आएका छन्।
अध्यक्ष र महासचिवमाथि विशेष साधारणसभा भर्चुअलमार्फत गर्न आह्वान गरेको, बजेट पास नगरी अनधिकृत रूपमा बिनाअख्तियारी आर्थिक करोबार गरेको, बोर्ड बैठकबाट अवैधानिक निर्णय गरेको लगायत १९ आरोपसमेत उनीहरूले लगाएका छन्।











