Kathmandu Press

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता यसै साता

प्रतियोगिता यही भदौ २७ देखि ३१ गतेसम्म राजधानीमा हुने आज आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको छ। 
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता यसै साता

काठमाडौं, भदौ २४ : नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा ११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ हुने भएको छ। प्रतियोगिता यही भदौ २७ देखि ३१ गतेसम्म राजधानीमा हुने आज आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको छ। 

प्रतियोगितामा सात सय ११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार सात सय ७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी हुने तेक्वान्दो सङ्घका उपाध्यक्ष तथा प्रतियोगिता आयोजक समितिका संयोजक भानबहादुर चन्दले जानकारी दिए। उनका अनुसार पुम्सेतर्फ २५ र ग्यरोगी (फाइट) तर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। 

यसअघि नेपाली खेलाडीमात्र भाग लिने यस प्रतियोगितामा पहिलो पटक भारत र बङ्गलादेशका खेलाडीले सहभागिता जनाउनेभएका छन्। भारतबाट ३५ र बङ्गलादेशबाट ३३ खेलाडीले भाग लिने आयोजक सङ्घले जनाएको छ।

उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ३५ लाख खर्च लाग्ने आयोजकको भनाइ छ। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई कोरियामा आयोजना हुने विश्व कोरियन एम्बासडर प्रतियोगितामा सहभागी गराइने आयोजक सङ्घले जनाएको छ।

प्रकाशित मिति: १७:०७ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्