बलिउडको पहिलो समलिङ्गी रोमान्टिक कमेडी
डिस्को गीत, विवाहको गुलाबी समारोह र दुई पुरूष कलाकारबीच चुम्बन। बलिउडमा हालै रिलिज भएको पहिलो समलिङ्गी रोमान्टिक कमेडीले निकै चर्चा पाइरहेको छ।
शुक्रबार रिलि....
डिस्को गीत, विवाहको गुलाबी समारोह र दुई पुरूष कलाकारबीच चुम्बन। बलिउडमा हालै रिलिज भएको पहिलो समलिङ्गी रोमान्टिक कमेडीले निकै चर्चा पाइरहेको छ।
शुक्रबार रिलिज भएको “शुभ मंगल ज्यादा सावधान” मा आयुष्मान खुराना सामाजिक स्वीकृतिका लागि सङ्घर्षरत समलिङ्गी पुरूषको भूमिकामा देखिएका छन्।
उपनिवेशदेखि निषेध समलिङ्गी सम्बन्धलाई भारतको सर्वोच्च अदालतले सन् २०१८ मा वैधानिकता दियो। तर यौनिक तथा लैङ्गिक अल्पसंख्यक अझैं पनि विभेद र हिंसा सहन बाध्य छन्। आफ्नै परिवारबाट पनि उनीहरू प्रताडित छन्। उनीहरूको कथा मूलधारका सिनेमामा बिरलै देखिन्छ।
चलचित्रको एउटा ट्रेलरमा खुरानाले इन्द्रेणी पहिरन लगाएका छन्। मेगाफोन बोकेर आफ्नो प्रेमीका पिता निको नहुने रोग होमोफोबियाबाट ग्रस्त रहेको घोषणा गरिरहेका छन्। दृश्य हास्यास्पद छ तर समलिङ्गी पात्रलाई हाँसोको पात्र बनाइएको छैन।
चलचित्रका लेखक तथा निर्देशक हितेश केवल्यले यो विवादास्पद विषयवस्तुलाई सहज रूपमा देखाउनलाई हास्य रस नै उपयुक्त विकल्प रहेको बताए। यसअघि सन् २०१७ मा केवल्यले “शुभ मंगल सावधान” चलचित्र बनाएका थिए। उक्त चलचित्र स्लिपर हिट भयो। “इरेक्टाइल डिस्फङ्क्सन”सँग सङ्घर्ष गरिरहेका पुरूषको भूमिकामा देखिएका खुरानाले निकै प्रशंसा पनि बटुलेका थिए।
बलिउडका ३५ वर्षीय स्टार आयुष्मान खुरानाले सामाजिक विषयवस्तुका थुप्रै चलचित्रमा अभिनय गरेका छन्। छिटो पैसा कमाउने वीर्यदाता, दृष्टिविहीन भएको नाटक गर्ने पियानोवादकदेखि अल्पायुमै कपाल झर्ने समस्याबाट पीडित पुरूषको अभिनय उनले गरिसकेका छन्।
पारिवारिक चलचित्र
चलचित्र निर्माताले उठाएको जोखिम बक्स अफिसमा सफल देखिएको छ। परम्परागत सोच र मूल्यमान्यतालाई चुनौती दिने कथावस्तुमा हिन्दी चलचित्र उद्योगले अझ धेरै लगानी गर्नुपर्ने देखिएको छ।
टि सिरिज चलचित्रको सह निर्माता हो। विश्वकै “टप युट्युब च्यानल” बनेको टि सिरिजको १२ करोड ८० लाख सब्सक्राइबर छन्। कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक भूषण कुमारले चलचित्रमा लगानी गर्नलाई नहिच्किचाएको बताए।
“कथा सुन्दा नै हामीलाई यो उत्कृष्ट पारिवारिक चलचित्र हो भन्ने लागेको थियो। प्रेमको कुनै सीमा र लिङ्ग हुँदैन भन्ने तथ्यलाई कथावस्तुले मिहीन तरिकाले प्रस्तुत गरेको छ,” कुमारले भने।
“सामाजिक स्वीकृतिको विषयवस्तुलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ। धेरैभन्दा धेरै दर्शकसम्म पुग्नलाई हास्यरस प्रयोग गरिएको छ। आफ्नो सोचलाई पुनर्मुल्याङ्कन गर्न दर्शकलाई सहयोग पुग्नेछ,” उनले भने।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक चित्रण गर्ने सवालमा बलिउडको राम्रो अनुभव छैन। “माइ ब्रदर निखिल”, “कपुर एन्ड सन्स”, र “अलिगढ” जस्ता एकाध चलचित्रले विषयवस्तुलाई संवेदनशील रूपमा प्रस्तुत गरेका छन्।
सन् १९९६ मा रिलिज भएको “फायर” अतिवादीको कोपभाजनमा पर्योर। चलचित्रमा विवाहदेखि असन्तुष्ट दुई महिलाले यौन सम्बन्ध राखेको विषय प्रस्तुत गरिएको छ। भारतमा चलचित्र रिलिज हुँदा हिन्दु अतिवादीले सिनेमाहलमा आक्रमण गरेका थिए।
क्रुर पूर्वाग्रह
पोहोर रिलिज भएको “एक लड्कीको देखा तो ऐसा लगा” चलचित्रमा समलिङ्गी छोरीलाई स्वीकार्ने परिवारको कथा चित्रण गरिएको थियो। चलचित्रका निर्माताले मुख्य विषयलाई पर्दामा सार्वजनिक हुनुअघि खुलाएनन्। तर यो अचम्मको घटना थिएन।
तर “शुभ मंगल ज्यादा सावधान” को ट्रेलरमा खुराना र उनका प्रेमीको भूमिकामा देखिएका जितेन्द्र कुमारले चुम्बनदेखि रोमान्टिक दृश्य र भड्किला नृत्य गरेको देखाइएको छ।
पोहोर साल एउटा अन्तर्वार्तामा खुरानाले त्यसता विषयवस्तुका लागि धेरै जनसंख्यामा पुग्न र संवाद सुरू गर्नलाई मूलधारको अभिनेता आवश्यक हुने बताएका थिए।
“भावनात्मक र गम्भीर विषयमाथि प्रकाश पार्न हास्यरस प्रवेश विन्दु मात्रै हो। सेक्सन ३७७ खारेज भएको हुनसक्छ तर समलिङ्गी सम्बन्ध विरूद्ध क्रुर पूर्वाग्रह अझै छ,” खुरानाले भने।