२३ ओभरको खेल हुने, भारतलाई १४५ रनको लक्ष्य
खेल २३ ओभरमा झारिएको छ भने भारतले डिएल मेथर्डमा १४५ रनको नयाँ लक्ष्य पाएको छ।
काठमाडाैं, भदाै १८ : वर्षाले रोकिएको नेपाल र भारतबीचको खेल २३ ओभरको हुने भएको छ। दोस्रो इनिङको खेल २.१ ओभर चलिरहँदा श्रीलंकास्थित पेल्लेकेले रंगशालामा भारी वर्षा भएपछि खेल रोकिएको थियो।
क्रिकेटसम्बन्धी न्यूजपोर्टल क्रिकइन्फोकाअनुसार खेल २३ ओभरमा झारिएको छ भने भारतले डिएल मेथर्डमा १४५ रनको नयाँ लक्ष्य पाएको छ। खेल १५ मिनेटपछि सुरु हुने बताइएको छ।
वर्षा रोकिएपछि अम्पायरहरुले मैदानको निरीक्षण गरेपछि खेल २३ ओभरमा झार्ने निर्णय गरेका हुन्। यसअघि खेल २० ओभरको मात्र हुन र नयाँ लक्ष्य १३० रन हुने बताइएको थियो
पहिला ब्याटिङ गर्दै नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको भारतले वर्षाले खेल रोकिँदा २.१ ओभरमा विनाक्षति १७ रन बनाएको थियो। उसका कप्तान रोहित शर्माले ७ बलमा ४ रन बनाएका छन् भने शुभमन गिलले ७ बलमा ३ चौका प्रहार गर्दै १२ रन बनाएका छन्।
भारतविरुद्ध करण केसीले पहिलो ओभर उत्कृष्ट बलिङ गरेका थिए। उनले रोहित शर्मालाई पटक पटक बिट गरेका थिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८।२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको थियो । पहिलो पटक भारतविरुद्ध खेलेको नेपालका लागि आसिफ सेखले सर्वाधिक ५८ रन बनाउँदा सोमपाल कामीले ४८ रन बनाए।
भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान ३ विकेट लिए।











