दक्षिण कोरियामा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह
सियोल, फागुन ८ : दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका ....

सियोल, फागुन ८ : दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह गरेका छन् । उनले बिहीबार कोरोना विरुद्ध लड्न केन्द्रीय सरकारसँग पनि आग्रह गरेका छन्।
दक्षिण कोरियाको दक्षिणपूर्वमा रहेको यस डाइगु नगर क्षेत्रमा बिहीबार मात्र थप ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको पत्रकार सम्मेलनमा मेयर क्वोनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न आग्रह गरेका छन्।
कोरियाली सङ्क्रामक रोग नियन्त्रण एवं रोकथाम केन्द्र (केसीडीसी) ले ३५ जना नयाँ बिरामीमध्ये २८ जना हालैमात्र चर्चमा गएका व्यक्ति रहेको जनाएको छ । उक्त चर्चमा एक जना कोरोना सङ्क्रमित व्यक्ति पनि सहभागी भएका थिए । केसीडीसीका अधिकारीका अनुसार अन्दाजी ६० वर्षीया ती महिलामा कोरोना सङ्क्रमण देखिएको थियो।
बुधबार नगर कार्यालयले १३ जनामा कोरोना जीवाणु सङ्क्रमित भएको जनाएको थियो । तीमध्ये ११ जना तिनै महिला सहभागी रहेको चर्चको कार्यक्रममा भेला भएका थिए।
दक्षिण कोरियामा हालसम्म ८२ जनामा कोरोना जीवाणुको सङ्क्रमण देखिएको छ।
कोरोना जीवाणुको सङ्क्रमण बढ्न थालेसँगै डाइगु नगरका सडकहरु सुनसान हुन थालेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ।












