Kathmandu Press

कक्षा १मा भर्ना भएका ९० वर्षीय प्रेमबहादुर भन्छन्– गाउँमा गफगाफ गर्न साथी छैनन्, त्यसैले पढ्न आएँ

‘सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्,’ उनी भन्छन्, ‘बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर पढ्न आएको हुँ।’
कक्षा १मा भर्ना भएका ९० वर्षीय प्रेमबहादुर भन्छन्– गाउँमा गफगाफ गर्न साथी छैनन्, त्यसैले पढ्न आएँ

दाङ, भदौ ५ : पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको।

उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र त्यसैले उनी अहिले दैनिक विद्यालय जान्छन्। कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ।

आफ्ना पनातिजस्ता उमेरका विद्यार्थीसँग उनी कक्षा १ मा पढ्दै छन्। चालु शैक्षिकसत्रदेखि डाँगीले कक्षा १ को पढाइ सुरु गरेका छन्। उनी आफ्नै वडामा रहेको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा अध्ययन गरिरहेका छन्।

उनी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन्। ‘सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्,’ उनी भन्छन्, ‘बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर पढ्न आएको हुँ।’

घरमा पनि उहाँ नातिहरूसँग बस्दै आएका छन्। उनकी श्रीमतीको २०३२ मा निधन भयो। त्यसपछि डाँगी एकलरूपमा घरमा बस्दै आएका छन्।

जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आएका छन्। नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उहाँको भनाइ छ।

डाँगी आफू बाँच्दासम्म पढिरहने बताउँछन् । भन्छन्, ‘सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो । जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो।’

डाँगी पढ्नमा पनि त्यति कमजोर छ्रैनन्। शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको उनी ।

‘परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ,’ उनी भन्छन्, ‘त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ।’ अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उहाँले राम्रोसँग पढ्न सकेको शर्मा बताउँछन्।

उहाँजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताउँछन्। ‘उहाँ सुरुमा आउँदा अच्चम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना गर्यौँं,’ उनले भन्, ‘अहिले उहाँ मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ।’

विद्यालयले उनलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताउँछन्। उहाँ विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोशाक लगाउनुपर्ने भएकाले विद्यालय पोशाक पनि किनिदिने योजना बनाएको बताउँछन्।

प्रकाशित मिति: १२:१२ बजे, मंगलबार, भदौ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्