अवरुद्ध बेंसीसहर-चामे सडक खुल्यो
केही दिनको निरन्तर वर्षाले आइतबार बिहान यस सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिकामा पर्ने रामबजार, घोप्टे, च्याम्चे, रैदुखोलालगायत स्थानमा अवरुद्ध भए पनि साँझ नै सडक खुलाइएको थियो।लमजुङ, साउन २९ : बाढी पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालन भएको छ। बेंसीसहर नगरपालिका ६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै आज बिहान १० बजेदेखि सवारीसाधन सञ्चालनमा आएको डुम्रे बेंसीसहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ।
केही दिनको निरन्तर वर्षाले आइतबार बिहान यस सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिकामा पर्ने रामबजार, घोप्टे, च्याम्चे, रैदुखोलालगायत स्थानमा अवरुद्ध भए पनि साँझ नै सडक खुलाइएको थियो।
खरखरेमा पानीसहित ठूलाठूला ढुङ्गासहितको पहिरो आएको र डोजरले खोतल्दा झन पहिरो जान थालेपछि सडक खुलाउन सकिएको थिएन। तर आज बिहान पानी रोकिएपछि सडक खुलाइएको कार्यालयका इञ्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए।
उनले पहिरोको जोखिम भने अझै रहेको बताए। यस सडकमा दैनिक ३० देखि ४० वटा सवारी साधन आवतजावत हुने गरेका छन्। लमजुङ र मनाङ जोड्ने एक मात्र सडक अवरुद्ध हुँदा बढी मर्का मनाङवासीलाई पर्दै आएका छन्।