मुगुको ताल्चा विमानस्थलमा १२ बजेपछि हवाई उडान बन्द गरिँदा यात्रुलाई सकस
अस्पतालले रेफर गरेका जटिल केसका बिरामीलगायत दर्जनौ यात्रुहरु यतिबेला ताल्चा विमानस्थलमा मौसम खुल्ला र जहाज आउला भन्ने आशामा विमानस्थल कुरेको हप्तौं भैसक्यो जहाज चढ्न पाएका छैनन्।
मुगु, साउन २६ : मुगु जिल्लाको ताल्चा विमानस्थलमा केही महिनाका लागि १२ बजेपछि हवाई उडान बन्द गरिँदा बिरामी लगाएत जरुरी कामले जिल्ला बाहिर जाने यात्रुलाई सकस भएको छ।
मुगुलगायत कर्णालीका हिमाली जिल्लाहरु हुम्ला, डोल्पा लगायतका जिल्लामा मौसमको खराबीका कारण नागरिक उड्ययन कार्यालयले १२ बजेपछि हवाई उडान असुरक्षित हुने भनेर हवाई सेवा बन्द गरे पछि सर्वसाधारण प्रभावित भएका हुन्।
कर्णालीका विमानस्थलहरुमा प्रायजसो मौसम खराबीका कारण १२ बजे भन्दा अघि हुस्सु र कुहिरोले ढाक्ने १२ बजे पछि बिस्तारै कुहिरो हटेर आकाश खुला भएपछि नागरिक उड्ड्यन प्राधिकरणको नियम लागु हुने गरेका कारण वर्तमान अवस्थामा जहाजमा उड्ने आशाले हप्तौ सम्म यात्रुहरु विमानस्थलमा अलपत्र परेको यात्रुहरुको दुखेसो छ।
मौसम खरावीकै कारण यतिबेला बाढी र पैरोको डरले कच्ची सडकको यात्रा भन्दा हवाई यात्रा सुरक्षित ठान्ने अस्पतालले रेफर गरेका जटिल केसका बिरामीलगायत दर्जनौ यात्रुहरु यतिबेला ताल्चा विमानस्थलमा मौसम खुल्ला र जहाज आउला भन्ने आशामा विमानस्थल कुरेको हप्तौं भैसक्यो जहाज चढ्न पाएका छैनन्।
वर्षाको सिजनमा कर्णालीबासीलाई सडक तथा हवाई सेवा भएर पनि बिरामीलार्ई समयमै अस्पताल पुर्याउन नसकी मृत्यु वरण गर्नुपर्ने र महत्वपूर्ण कामका लागि समयमै गन्तव्यमा पुग्न नसकेर विभिन्न अवसरहरु समेत गुमाउनु पर्ने मुगुका नागरिकहरुको नियति बन्ने गरेको दुर्गमबासीहरुको दुखेसो छ।











