१ हजार दरका ५२ लाख ७५ हजार नक्कली नोट बरामद, ९ जना पक्राउ
सो नक्कली नोटको कारोबारमा सिन्धुपाल्चोकका सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली संलग्न रहेकाे प्रहरीले बताएकाे छ।
काठमाडौं, साउन २६ : काठमाडौं र भक्तपुरबाट १ हजार दरका ५२ लाख ७५ हजार नक्कली नोट बरामद भएको छ। नोट बरामदसँगै प्रहरीले नौजनालाई पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो। हिजो (बिहीबार) लु१प ५ नम्बरको पर्यटक बसलाई नाकढुंगा चेकपोस्टमा चेकजाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएकोे अवस्थामा ३५ लाख ७३ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर उनीहरुले बताएका आधारमा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँस्थित सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेराबाट थप १७ लाख दुई हजार रुपैँया हजार दरका नक्कली नोट बरामद गरिएको थियो।
सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेराबाट सो नक्कली नोट बरामद गरिएको थियो। सो नक्कली नोटको कारोबारमा सिन्धुपाल्चोकका सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली संलग्न रहेकाे प्रहरीले बताएकाे छ।
उनीहरुलाई मुद्रा कसुरमा मुद्दा दायर गरिने एसएसपी कार्कीले जानकारी दिए।











