Kathmandu Press

महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाइने

महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो।
महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाइने

काठमाडौं, साउन २६ : काठमाडौं महानगरपालिकाले जथाभाबी रुपमा सञ्चालनमा आएका र महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाउने भएको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो।

महानगरपालिकाले काठमाडौँ उपत्यकाबाट बाहिर चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि तोकिएको मापदण्डअनुरुप टिकट बुकिङ कार्यालयसहित व्यावसायिक ठेगाना रहेको सम्बन्धित वडा कार्यालयमा अनिवार्यरुपमा दर्ता गर्नसमेत आग्रह गरेको छ।

महानगरपालिकाले टिकट बुकिङ कार्यालय सडक चोकको सय मिटर वरपर खोल्न नपाउने, बुकिङ कार्यालयको मुख्य कार्यालय गोँगबुस्थित नयाँ बसपार्कभित्र अनिवार्य रुपमा हुनुपर्ने, नयाँ बसपार्कदेखि महाराजगञ्ज र बाफलसम्म कुनै पनि बुकिङ कार्यालय खोल्न नपाउने बताएको छ ।

यस्तै, बुकिङ कार्यालयमा अनिवार्य भाडादर उल्लेख गरिएको वोर्ड राख्नुपर्ने, बुकिङ कार्यालयमा टिकट काट्न आउने सेवाग्राहीका लागि अनिवार्य आधारभूत आवश्यकता (पार्किङ, शौचालय, पानी, बत्ती बस्ने व्यवस्था) भएको हुनुपर्ने उल्लेख छ।

यसैगरी, बुकिङ कार्यालयको कोठा कम्तीमा १० देखि १५ फिटको हुनुपर्ने, बुकिङ कार्यालयका कर्मचारीले पोशाक र परिचयपत्र अनिवार्य रुपमा लगाउनुपर्ने र बुकिङ कार्यालयमा बुकिङ हुने सवारी साधन लैजान नपाउने व्यवस्थासमेत गरेको छ।

यसअघि महानगरपालिकाले काठमाडौँभित्र जथाभावी रुपमा टिकट बुकिङ कार्यालय खोल्ने तथा सडकमा यात्रुलाई चढाउने सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने व्यवस्था गरेको थियो। सोही व्यवस्थाअनुसार अहिले अधिकांश सवारी साधन नयाँ बसपार्कभित्रबाट सञ्चालन हुँदै आएका छन्।

प्रकाशित मिति: १४:२९ बजे, शुक्रबार, साउन २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्