बनेपामा फुटबल एकेडेमी स्थापना
बनेपा फुटबल क्लब र माउन्ट एभरेष्ट क्लबको सहकार्यमा उक्त एकेडेमी स्थापना गरिएको हो। एकेडेमीले आफ्नो स्थापनासँगै सातदेखि १७ वर्षसम्मका बालबालिकालाई फुटबलको प्रशिक्षणसमेत दिन सुरु गरेको छ।
काठमाडाैं, साउन २० : बनेपामा फुटबल खेलको विकासका लागि क्रियाशील दुई क्लबको सहकार्यमा फुटबल एकेडेमी स्थापना गरिएको छ।
बनेपा फुटबल क्लब र माउन्ट एभरेष्ट क्लबको सहकार्यमा उक्त एकेडेमी स्थापना गरिएको हो। एकेडेमीले आफ्नो स्थापनासँगै सातदेखि १७ वर्षसम्मका बालबालिकालाई फुटबलको प्रशिक्षणसमेत दिन सुरु गरेको छ।
एकेडेमीले हाल ६० बालबालिकालाई बनेपा पोलिटेक्निकस्थित मैदानमा फुटबल प्रशिक्षण दिइरहेको छ। काभ्रे जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा स्थापना गरिएको एकेडेमीको अध्यक्षमा निरोज शाक्य, उपाध्यक्षमा मनिष भोछिभोया, सचिवमा सागर मानन्धर र कोषाध्यक्षमा कञ्चन नापित रहेका छन्।
यस्तै सदस्यमा रसिला जर्घामगर, अनिश लामा र राहुल श्रेष्ठ रहेका छन् भने सल्लाहकारमा बागमती प्रदेश फुटबल सङ्घका अध्यक्ष निरोज श्रेष्ठ र एन्फाका केन्द्रीय सदस्य एवं जिल्ला फुटबल सङ्घका अध्यक्ष विकास नारायण श्रेष्ठ, सञ्चारकर्मीद्वय विनोद न्यौपाने र केशवराज पौडेल रहेका छन्।
बालबालिकालाई सानै उमेरदेखि फुटबल खेलप्रति आकर्षित गर्दै प्रशिक्षण दिने र उमेर समूहदेखि सिनियर राष्ट्रिय टोलीसम्मका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी स्थापना गरिएको जनाइएको छ। एकेडेमीले निकेश नापितलाई प्रशिक्षकका रुपमा नियुक्त गरेको छ।











