पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिकलाई कोरोना भाइरस
काठमाडौं, फागुन ५ : जापानमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोना....

काठमाडौं, फागुन ५ : जापानमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको एक अमेरिकी अधिकारीले बताएका छन्।
उनीहरू जापानमा उद्धार गरिएका ४०० अमेरिकी नागरिक मध्येका हुन्। उद्धार गरिएकामध्ये अधिकांश व्यक्तिहरू दुईवटा अमेरिकी हवाईजहाजमार्फत् स्वदेश फर्किरहेका छन्। तर सङ्क्रमित व्यक्तिहरूलाई चाहिँ उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ। झन्डै ३,७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारन्टीनमा राखिएको छ।
उक्त पानीजहाजबाट हङ्कङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएपछि पानीजहाजलाई क्वारन्टीनमा राखिएको हो। चीनबाहिर नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने यो सबैभन्दा ठूलो समूह हो। जापानी अधिकारीहरूले आइतवार बताएअनुसार पानीजहाजमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या ७० बाट ३५५ पुगेको छ।
एक अमेरिकी यात्रीले क्वारन्टीनका प्रयासहरू विफल भएको बताउँदै आफूले पानीजहाजमा सुरक्षित महसुस नगरेको बीबीसीलाई बताइन्। -बीबीसी











