मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हुँदैन : प्रधानमन्त्री
काठमाडौं, फागुन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्न....
काठमाडौं, फागुन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गरेका छन् ।
६९औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले अबको यात्रा सुशासन र विकासतर्फ भएकाले तीव्र गतिका साथ त्यसतर्फ अघि बढ्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, “हामी विल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गर्दै संङ्घीय लोकतान्त्रिक गणतन्त्रको नवीन युगमा प्रवेश गरेका छौँ । परिस्थिति बदलिएको छ, हाम्रा कामका प्राथमिकता पनि फेरिएका छन् । हाम्रो जिम्मेवारी पनि बदलिएको छ ।’’
निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्दै हामी अहिले गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासविरुद्ध तथा आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई सुदृढ गर्ने दिशामा अग्रसर भएको उनको भनाइ थियो ।
यतिखेर सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को उद्देश्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “स्वदेश र विदेशका लगानीकर्ताको संलग्नतामा आउँदो चैत महिनामा लगानी शिखर सम्मेलनको आयोजना गरिँदैछ । लोकतन्त्र प्राप्तिको सात दशक लामो यात्रामा हामीले देशवासीको मात्रै हैन देश बाहिरका मित्रको पनि नैतिक समर्थन प्राप्त गरेका छौँ ।’’
सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति र सन् २०३० भित्र दीगो विकास लक्ष्य हासिल गर्ने अभियानमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “हामी हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गर्दै अवसरलाई गुम्न नदिन कटिबद्ध छौँ ।”
प्रजातान्त्रिक हक–अधिकारको स्थापनाका लागि विगतमा भएको अथक र अनवरत आन्दोलनमा आफूलाई समाहित गर्ने वीर-विरङ्गनाको स्मरण गर्ने, नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको सम्झना गर्ने र विगतमा भए-गरेका कमी कमजोरीको समीक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गरी अघि बढ्ने सङ्कल्प गर्ने दिन भएको उनको भनाइ थियो ।
नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास स्वीकार्य हुन नसक्ने बताउँदै उनले यस्ता गतिविधि गर्नेविरुद्ध सरकार कडाइका साथ प्रस्तुत भई कानूनी कारवाही गर्ने बताए । प्रधानमन्त्री ओलीले भने, “म फेरि एकपल्ट स्पष्ट पार्न चाहन्छु, मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि गर्नु हुँदैन ।’’
वि.सं. २००७ फागुन ७ गते निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको गौरवमय दिनको सम्झना र सम्मानमा हरेक वर्ष प्रजातन्त्र दिवस मनाइँदै आएको छ ।