‘लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधनको तयारी छ’
उनले यसपटकको लगानी सम्मेलन विदेशी लगानीकर्तालाई बोलाएर ठूला परियोजनाको सूची प्रश्तुत गर्ने र लगानीको प्रतिवद्धता जुटाउनेमा मात्रै केन्द्रित नहुने स्पष्ट पारे।
काठमाडौं, कात्तिक १९ : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा ऐन संशोधनको मस्यौदा तयार पारेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले लगानी सम्मेलनअघि नै आवश्यक कानुनी तथा नीतिगत सुधारको काम पूरा गर्ने सरकारको तयारी रहेको बताएका हुन्।
उनले यसपटकको लगानी सम्मेलन विदेशी लगानीकर्तालाई बोलाएर ठूला परियोजनाको सूची प्रश्तुत गर्ने र लगानीको प्रतिवद्धता जुटाउनेमा मात्रै केन्द्रित नहुने स्पष्ट पारे।
सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि गरेका कानूनी सुधार, लगानीको सुरक्षा, श्रमिकको संरक्षण र बजारको सुनिश्चितताबारे जानकारी गराउने सम्मेलनको मुख्य उद्देश्य रहेको उनको भनाइ छ। मन्त्री लम्सालले लगानीकर्ताले नेपालमा ढुक्कसँग लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।
सरकारले स्वीकृति दिइसकेको परियोजना कसैले रोक्न नसक्ने गरी लगानीको सुरक्षा सुनिश्चित गर्नेगरी कानुनी व्यवस्था गर्न लागिएको उनले बताए। ती ऐन संशोधनसँगै आवश्यक नियमावली, कार्यविधि, मापदण्ड र निर्देशिका पनि लगानी सम्मेलनअघि नै तयार गर्ने सरकारको लक्ष्य छ।
मस्यौदा प्रधानमन्त्री कार्यालयमा बुझाइसकिएको र त्यहाँबाट सम्बन्धित मन्त्रालय हुँदै कानून मन्त्रालयमार्फत संशोधनको प्रक्रिया अघि बढाइने उनले बताए।






