Kathmandu Press
पार्टी विघटनको खतरा रहेको प्रचण्डको भनाइ
पार्टी विघटनको खतरा रहेको प्रचण्डको भनाइउनले समाजवादी मोर्चा बनाएर एकता प्रक्रिया थालिएकाले पार्टी पुनःनिर्माणको सम्भावना रहेको पनि औंल्याए।

काठमाडौं, साउन १७ : पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवदन पेस गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पुनःनिर्माणसँगै विघटनको खतरा रहेको भनाइसमेत राखेका छन्। 

बुधबार काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समितिको बैठकमा पेश भएको राजनीतिक प्रतिवेदन वाचन गर्दै प्रचण्डले यस्तो भनाइ राखेका हुन्। बैठकमा प्रचण्डले भनेका छन्, ‘पार्टीमा व्यक्तिवादी र गुटबन्दी मौलाएको छ, त्यसकारण पार्टी विघटनको खतरा पनि छ।’

उनले समाजवादी मोर्चा बनाएर एकता प्रक्रिया थालिएकाले पार्टी पुनःनिर्माणको सम्भावना रहेको पनि औंल्याए। ‘श्रमजिवीभन्दा सभ्रान्त वर्ग खोज्दै हिँड्ने नकारात्मक प्रवृत्ति पार्टीभित्र बढेको छ,’ प्रचण्डले भने। 

उनले यो बैठकलाई पार्टी पुनर्निर्माणको सुरुवात बनाउनुपर्ने धारणा पनि राखे। ‘हाम्रो पार्टी पार्टी जस्तो भइरहेको छैन, पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ,’ उनले भने।

अहिले माओवादी केन्द्र नेतृत्वको सरकारका कारण जनतामा आशा पलाएको दाबी गर्दै दाहालले यही बेला संगठन विस्तार गर्नुपर्ने बताए। त्यसका लागि कमजोरी स्विकार्न काेही डराउन नहुने उनले बताए।

प्रकाशित मिति: १४:१९ बजे, बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्