महिला विश्वकप : कोलम्बियाले जर्मनीलाई हरायो, नर्वे र स्वीकट्जरल्यान्ड नकआउटमा
आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा कोलम्बियाले जर्मनीमाथि २–१को जित निकाल्यो।
काठमाडाैं, साउन १४ : अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्तमा आयोजना भइरहेको महिला विश्वकपमा कोलम्बिया विजयी भएको छ। आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा कोलम्बियाले जर्मनीमाथि २–१को जित निकाल्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लिन्डा काइसेडोले ५२ औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाइन्। निर्धारित समयको सकिन १ मिनेट बाँकी छँदा जर्मनीका लागि एलेक्सान्डर पोपले बराबरी गोल गरिन्।
तर, इन्जुरी समयको सातौं मिनेटमा म्यानुअल भानेगसले गोल गर्दै कोलम्बियालाई जित दिलाइन्।
यो जितसँगै समूह एचमा ६ अंकसहित कोलम्बिया शीर्ष स्थानमा उक्लिएको छ। जर्मनी ३ अंकसहित दोस्रो स्थानमा छ। यस्तै, आजै भएको खेलमा दक्षिण कोरियालाई हराउको मोरक्को पनि ३ अंक नै जोड्दै तेस्रो स्थानमा छ।
लिगको अन्तिम खेलमा कोलम्बियाले मोरक्को र जर्मनीले दक्षिण कोरियासँग खेल्ने छन्। त्यसपछि मात्र नकआउट पुग्ने २ टिमको टुंगो लाग्ने छ।
यस्तै, नर्वे र स्वीट्जरल्यान्ड नकआउट चरण प्रवेश गरेका छन्। समूह एबाट स्वीट्जरल्यान्ड विजेता र नर्वे उपविजेताका रुपमा नकआउट चरण पुगेका हुन्।
समूह एमा ३ खेलमा स्वीट्जरल्यान्डले ५ र नर्वेले ४ अंक जेडे । यत, अन्तिम खेलमा स्वीट्जरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको आयोजक न्युजिल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ। नर्वेसँगै समान ४ अंक जोडेपनि गोलअन्तरमा पछि पर्दै न्युजिल्यान्ड बाहिरियो।
आइतबार नै भएको खेलमा नर्वेले फिलिपिन्समाथि ६–०को फराकिलो जित निकाल्यो। नर्वेका लागि हाउगले खेलको छैटौं, १७औं र दोस्रो हाफको इन्जुरी टाइममा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। ग्राहम हान्सेनले ३१औं र रेइटिनले ५३ मिनेटमा नर्वेका लागि थप गोल गर्दा ४८ मिनेटमा फिलिपिन्सकी बार्करले आत्मघाती गोल गरिन्।











