Kathmandu Press

‘इच्छाशक्तिका अगाडि शारीरिक दुर्बलता गौण बन्दोरहेछ’

पारिवारिक कुरा गर्दा खासमा अपाङ्गता उनमा मात्र होइन, उनकी श्रीमती नन्दारुपाले पनि दुवै आँखा देख्दिनन्। पाँच जनाको परिवारमा छोरीमा पनि बौद्धिक (सुस्त मनस्थिति) अपांगता छ। तर पनि यो परिवार अरू कसैको दयामायाले नभएर आफ्नै पौरखमा बाँचिरहेको छ। 
‘इच्छाशक्तिका अगाडि शारीरिक दुर्बलता गौण बन्दोरहेछ’

सुर्खेत, साउन १३ : सेतै फुलेका कपाल, एक छेउमा उनी श्रीमती र उनीसँगै एउटा समाउने लौरी राखेर दुई दम्पती  मिठाईका डब्बा बनाउने गर्छन्। उनीहरु दुवै दम्पतीको व्यस्तता हेर्दा यसपटक अलि धेरै मिठाई राख्ने डब्बाको अडर लिएको जस्तो पनि देखिएको थियो। 

काम हेर्दा लाग्दैन उनीहरु शारीरिक रुपमा अशक्त छन् भन्ने। करिब ६८ वर्षीय नन्दप्रसाद चौलागाईं आफ्नो नियमित काममै व्यस्त भेटिन्छन्, सधैँजसो। ‘सुर्खेत स्विट बक्स’ व्यवसायबाट  मिठाईका बट्टा उत्पादन गर्नमै व्यस्त छन्। शारीरिक अवस्थाका हिसाबले उहाँका दुवै खुट्टा चल्दैनन्। यो अवस्थामा रहनुभएका वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत इत्राममा बस्दै आएका चौलागाइको जीवन धेरैले सोचेभन्दा भिन्न छ।

पारिवारिक कुरा गर्दा खासमा अपाङ्गता उनमा मात्र होइन, उनकी श्रीमती नन्दारुपाले पनि दुवै आँखा देख्दिनन्। पाँच जनाको परिवारमा छोरीमा पनि बौद्धिक (सुस्त मनस्थिति) अपांगता छ। तर पनि यो परिवार अरू कसैको दयामायाले नभएर आफ्नै पौरखमा बाँचिरहेको छ। 

मागेर जीवन गुजारा गर्ने भनेको नै हातखुट्टा सद्धे नहुने अर्थात शारीरिक रुपले अपाङ्गहरुले मात्रै हो। सबलांगहरुले त काम गरेर खाने हो भन्ने सामाजिक मान्यताका कारण कतिपयले उनलाई दयाभाव देखाउँदा पनि उनले कहिल्यै आश गरेनन्। उनी भन्ने गर्छन्, ‘शरीरको एक अङ्ग कमजोर भएपनि अर्को अङ्ग ठीक छ भने किन अर्काको आश गर्ने?’ उनको मेहनत, लगनशीलता र सफलता देखेर धेरै मानिस छक्क पर्दछन्। 

वीरेन्द्रनगर एयरपोर्ट नजिकै रहेको इत्राम खोलापुल पूर्वको चोकदेखि चार सय ५० मिटर दक्षिणमा एउटा साधारण घरमा उहााँले आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्। मिठार्ई प्याक गर्ने कागजका चारकुने बट्टा बनाउने काममा ध्यानमग्न चौलागाइले उद्योग थालेको अहिले २२/२४ वर्षमा लागिसकेको छ।

उनी भन्छन्, ‘उमेर बढ्दै गएर होला अहिले हातगोडा थाकेका छन् जाँगर पनि सेलाउँदै गएको छ।’ दृष्टिविहीन् भएपनि काममा उनकी पत्नी नन्दारुपाले सघाउँदै आएकी छन्। चौलागाई दम्पतीले ‘सुर्खेत स्वीट बक्स’ व्यवसाय सञ्चालन गरेको दुई दशकभन्दा धेरै भएको छ। शारिरीक अपाङ्गतासँगै उद्योग व्यवसाय सञ्चालन गर्नु र त्यसलाई निरन्तरता दिने काम आफैँमा कम चुनौतीपूर्ण छ तर पनि यी दुईको जोडी पारिवारिक रुपमा मात्र जमेको छैन व्यवसायमा पनि उत्तिकै जमेको छ।

नन्दप्रसाद २०५२ सालमा आफ्नो श्रीमतीको आँखाको उपचारका लागि सुर्खेत झरेका थिए। जुम्लामा खेतीपाती गर्दै गुजारा गरी जेनतेन जीवन गुजारा चल्दै थियो। पछि कम्मरमुनिको भाग अचानक चल्न छोडेपछि उनी उपचारका लागि सुर्खेत झरेका थिए। सुर्खेतलगायत देशका विभिन्न स्थानमा उपचार गराउँदा पनि सामान्य अवस्थामा आउन नसकिएको उनले दुःखेसो पोखे।

२०४१ सालमा चौलागाईंको जीवनमा आइपरेको समस्या त्यतिमा मात्र सीमित रहेन। आफ्नो खुट्टा नचल्नेभएपछि श्रीमतीको भरमा पर्नुभएका उनलाई केही वर्षपछि अर्को विपद् आइलाग्यो। नन्दरुपाको पनि अकस्मात् दुवै आँखाको ज्योति गुम्यो। तैपनि चौलागाई दम्पतिले हरेश खाएन र मिठार्ईका लागि आवश्यक पर्ने बट्टाको व्यापार सुरु गर्‍यो। पीडामै जेनतेन जीवन गुजारिरहेका बेला छोरी जन्मिइन्। ती पनि सुस्त मनस्थितिकी। 
 
उनीहरूले थप सङ्र्घष गर्ने अठोटसहित व्यापारलाई निरन्तरता दिइरहे। उनीहरुको त्यो आत्मविश्वासले अन्य अपाङ्गता भएकाले पनि समाजमा केही गर्न सक्छन् भन्ने कुराको उदाहरण दिएको छ। एक रथका दुई पाङ्ग्रा जस्तै यो दम्पति एक अर्काको भरमा बाँचेको छ।
 
अपाङ्गमैत्री स्कुटीमा दैनिकजसो मिठाईका बट्टा बेच्दै हिँड्ने नन्दप्रसादले व्यापार विस्तार गरेर खुद्रा पसलसमेत थापेका छन्। अपाङ्गता भएर पनि पौरखी काम गर्दै आएका उनले मासिक करिब दुई हजार मिठाईका बट्टा उत्पादन गर्दै आएको बताउँछन्। उनको साहस, सङ्घर्ष र सफलताको कथा सपांग व्यक्तिहरुको लागि पनि प्रेरणाको स्रोत बनेको छ। वार्षिक कारोवार रकम करिब रु. पाँच लाख गर्दै आएका उनीहरुको लगानी कटाएर वार्षिक रु. एक लाखभन्दा बढी नै बचत हुन्छ। 

चौलागाईको परिवारको मुख्य आयस्रोत नै व्यवसाय नै हो। दुई छोरा र एक छोरीसहति परिवारमा पाँच जना सदस्य छन्। व्यवसायलाई उनको परिवारका सदस्यले आफ्नै श्रममा चलाएका छन्। फुर्सदको समयलाई सदुपयोग गर्दै प्रयोग हुने श्रमले व्यवसायका लागिअन्य कामदार राख्नु नपरेको उनी बताउँछन्। 

नन्दप्रसाद व्यवसायी हुनुभन्दा पहिला सिपाही थिए। उनले तत्कालीन शाही नेपाली सेनामा २४ वर्ष एक महिना सेवा गर्नुभएको थियो। विसं २०३२ चैत १ गते सेनाको सिपाही दर्जाबाट सेवा सुरु गर्नुभएका उनले सेनाको अमल्दार पदबाट अवकाश लिएका थिए। सेनामा सेवारत रहँदा नै प्याराप्लेजिया रोगले च्याप्दै गयो र अन्ततः उनका दुवै खुट्टाले काम गर्न छाडे। आफ्नो साहसिक सङ्घर्ष र लगनशीलताको यात्राबाट उनले जीवन विचलित भएन र आज एक सफल व्यवसायी बनेका छन्। 

उनी भन्छन्, ‘जागिरको क्रममा प्याराप्लेजिया रोगले थलिएँ। जुम्लाबाट उपचारका क्रममा काठमाडौं आवतजावत पनि सम्भव भएन,’ उनले विगत सम्झँदै भने, 'उपचारमा सजिलो होला भन्ने सोचेर नै वीरेन्द्रनगरमा बसाई सरेको हुँ।' जुम्लाको तत्कालीन लाम्रा गाउँ विकास समिति वडा नं ४ लाम्रा गाउँमा जन्मनुभएका उनी २०५२ सालमा सुर्खेत बसाईसराईं गरी आउनुभएको र सो समयमा दश धुर जग्गाबाट बसाई सुरु गरिएको उनले बताए। 

कामप्रतिको लगाव, मेहनत र परिश्रमले होला अहिले वीरेन्द्रनगरमै एक कट्ठा १५ धुर घडेरी र सात कट्ठा १० धुर खेत जोड्नु भएको छ। विसं २०५५ मा वीरेन्द्रनगर नगरपालकिाको आर्थिक सहयोग र सुर्खेत नेत्रहीन सङ्घको आयोजनामा कागजी सामग्री उत्पादन’ सम्बन्धी एक हप्ते तालिमपछि नन्दप्रसादले मिठार्ईको बट्टा बनाउन थाल्नु भएको हो। सो तालिममा २५ जनाको सहभागिता थियो तर सुर्खेतमा अहिले यो व्यवसाय सञ्चालन गर्ने नन्दप्रसाद मात्र एक्लो प्रशिक्षार्थी हुन्। 

उनले भने, 'तालिमपछि कागजका थैला, झोला, मिठार्ईका बट्टा बनाउन जानेका छौँ। सुरुआती समयमा हामीले बनाएका मिठार्ईका बट्टाले बजार पाए। तर कागजका थैलाहरुमा भने ध्यान जान सकेन। त्यसको व्यवसाय प्लाष्टिकले ओगट्यो।' हालको समयमा कागजका थैलाहरुको उत्पादन बजारमा ल्याउन सके वस्तुको पुनःप्रयोग र वातावरणमा समेत सुधार आउने उनको भनाइ छ। 

बजारमा हालको समयमा प्लाष्टिकको प्रयोग बढ्दै जाँदा भने यसले वातावरणीय प्रदूषणका साथै नागरिकको स्वास्थ्यमा समेत असर गरिरहेको उनी बताउँछन्। उनी भन्छन्, 'खेर जाने कागजबाट सामग्री बनाएर सदुपयोगमा ल्याउन कुरामा नागरिकमा पनि जनचेतनाको विकास भइरहेको छ।'

पछिल्लो समय प्लाष्टिकको प्रयोगले ल्याउने वातावरणीय र स्वास्थ्यमा पर्ने असरका बारेमा सर्वसाधारणमा विस्तारै चेतनाको विकास हुन थालेपछि कागजका थैलालगायतको उत्पादनले बजार पाउने नन्दप्रसाद विश्वस्त देखिन्छन्। यसका लागि बजारमा कच्चा पदार्थ पनि खेर गइरहेका छन्। छापाखाना, सरकारी कार्यालयलगायतका क्षेत्र कागजका भरपर्दो स्रोत हुन्। (रासस)

प्रकाशित मिति: १५:३३ बजे, शुक्रबार, साउन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्